चितवन: आगामी जनवरीमा मलेसियामा हुने महिला यु–१९ विश्वकपको लागि नेपाली टिमको बन्द प्रशिक्षणका लागि खेलाडी सहितको टोली चितवन आएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको नमुना खेल मैदानमा हुने बन्द प्रशिक्षणमा सहभागी हुने १८ जना खेलाडी सहितको टोली चितवन आएको हो ।
चितवन क्रिकेट सङ्घका अध्यक्ष सुदीप पियाका अनुसार यही बुधबारदेखि सुरू हुने बन्द प्रशिक्षणका लागि खेलाडी सहितको टोली चितवन आउने क्रम जारी छ । उहाँले भन्नुभयो, “आजसम्म सबै खेलाडी चितवन आइ पुग्नेछन् ।” कतिपय हवाई मार्ग हुँदै आएका छन् भने कतिपय सडकबाट आउँदै गरेको उहाँले जानकारी दिनुभयो ।