काठमाडौं, माघ ३-
सुरक्षा संवदेनशीलताका कारण नेपाल आयल निगमले धनगढीमा रहेको सुदूरपश्चिम प्रादेशिक डिपो स्थानान्तरण गर्ने भएको छ। करिब साढे तीन अर्ब रूपैयाँको लगानीमा निगमले डिपो सार्ने तयारी गरेको छ।
२०३४ सालमा धनगढी कैलालीमा निर्माण गरिएको डिपो धेरै पुरानो भएको, बस्ती डिपोसँग जोडिएको, भण्डारण क्षमता कमजोर भएको लगायतका कारणले सार्न लागिएको हो।
अहिले डिपो एक बिगाहा आठ कट्ठा क्षेत्रफलमा फैलिएको छ। अहिलेको डिपो बस्ती नजिक भएकाले स्थानीयले डिपो सार्न पटक–पटक दबाब दिँदै आएका छन्। धनगढी नगरपालिकाले पनि डिपो सार्नका लागि निगमलाई आग्रह गर्दै आएको छ।
स्थानीयले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीलाईसमेत डिपो सार्न ध्यानाकर्षण गराएपछि मन्त्रीले पनि डिपो सार्न निर्देशन दिँदै आएका छन्। अहिलेको डिपो बस्तीको बीचमा भएकाले केही गरी दुर्घटना भइहाले ठूलो धनजनको क्षति हुने भएको हुँदा डिपो सार्ने निष्कर्षमा निगम पुगेको हो।
कैलालीको गोदावरी नगरपालिका ८ मा पर्ने अत्तरयिा चोकबाट पूर्वतर्फ पाँच किलोमिटरको दूरीमा पूर्व–पश्चिम राजमार्ग नजिकै सार्ने तयारी रहेको छ। निगमले २० बिघा १६ कठा आठ धुर जग्गा पहिचान गरी जग्गा प्राप्ति ऐन–२०३४ अनुसार जग्गा खरिद प्रक्रिया अघि बढाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्राचार गरेको छ।
धनगढी डिपोको भण्डारण क्षमता हालको बजार मागलाई अपुग भएको र भौतिक पूर्वाधार जीर्ण भएकाले सुरक्षाको मापदण्ड बाहिर परेकाले डिपो सार्न लागिएको भण्डारण क्षमता अभिवृद्धि परियोजना प्रमुख प्रदीपकुमार यादवले बताए।
‘जग्गाको पहिचान गरेर मन्त्रालयमा प्रतिवेदन बुझाएका छौं,’ यादवले भने, ‘जग्गा प्राप्ति ऐन अनुसार सरकारले जग्गा किनेर उपलब्ध गराएपछि निर्माण प्रक्रियाअघि बढाउँछौं।’