काठमाडौं: बिहीबार नेपाल खड्गी सेवा समितिका बाजा, खल तथा गुठीहरुलाई अनुदान दिँदै मेयर बालेनले काठमाडौं संस्कृति बचाउन युवा पुस्ता सक्रिय हुनुपर्ने बताएका हुन् ।
‘यो सहयोग कसैले कसैका लागि गरेको भन्दा पनि समृद्ध महानगर निर्माणका लागि आपसी सद्भावको काम गरिएको हो । सांस्कृतिक सम्पदाको संरक्षण, व्यवस्थापन र प्रवद्र्धनमा महानगरले आफ्नो जिम्मेवारी पूरा गर्छ’ उनले भने ।
विहीबार नेपाल खड्गी सेवा समिति अन्तर्गतका ४७ वटा बाजा, खल तथा गुठीहरुलाई काठमाडौँ महानगरपालिकाले १ लाख रुपैयाँका दरले अनुदान दिएको छ । राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा खल तथा गुठीका प्रतिनिधिहरुलाई अनुदान रकमको चेक प्रदान गरेको हो ।
नेपाल खड्गी सेवा समितिको सिफारिस भएका परम्परागत बाजा समूह तथा गुठीहरुलाई सहयोग रकम उपलब्ध गराएको महानगरले जनाएको छ ।
यस्तै कार्यक्रममा महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले नेवार समुदाय आत्मनिर्भर र समृद्ध रहेको बताइन् । उनले यो समुदायभित्र अथाह सांस्कृतिक सम्पत्ति रहेको बताइन् । डंगोलले भनिन् ‘सम्पदा बचाउन काम गर्ने समुदायको साथमा काठमाडौँ महानगरपालिका पनि छ भन्ने भरोसाका लागि हामीले सहयोग गरेका हौँ ।’
कार्यक्रममा नेवा जातीय महासंघका अध्यक्ष एवं खड्गी सेवा समितिका संरक्षक मनोज नेवा खड्गीले, अनुदान प्राप्त गर्न समूह बनाउने विकृतिप्रति चनाखो हुनुपर्ने बताए । उनका अनुसार खड्गी समुदायका गुठीहरुमध्ये ४ वटा गुठी घर निर्माणका लागि महानगरले गरेको सहयोगबाट परम्परागत काम गर्न सहज हुने भएको छ ।
महानगरले खड्गी गुठीका ४ वटा भौतिक संरचना निर्माण गरिरहेको छ । श्री कंग अजिमा तंडं गुठी सबैभन्दा ठूलो संरचना हो । यससँगै मेहरसिंह गुठी, शान्त गुठी र नरसिंह गुठी पनि निर्माण हुनेछन् । यी संरचना पुनर्निर्माणको लागत करिब ५ करोड रुपैयाँ हुने अनुमान गरिएको छ ।