मनाङ : हिमाली जिल्ला मनाङमा ढिला गरी हिमपात हुँदा किसान खुसी भएका छन् । ङिस्याङ गाउँपालिका-१, पिसाङका ७४ वर्षीय किसान याङदुङ गुरुङले ढिलै गरी भएको हिमपातले आलु र करुको उत्पादन बढ्नसक्ने बताए ।

‘यहाँको मुख्यबाली  आलु र करु हो । चैत, वैशाखमा लगाइने यी बालीलाई पुसमा हिउँ पर्नुपर्छ । यसपटक ढिला गरी पर्‍यो, माटो राम्ररी नभिजे पनि सुक्खापन केही कम हुन्छ”, उनले भने, “जमिन तातिएपछि हिमपात हुँदा हिउँको पानी जमिनमुनी नपुग्दै माथि नै सुक्छ । चिस्यान नभए खेतीबालीलाई पुग्दैन, उत्पादन घट्छ, तर पनि केही मात्रामा हिमपात हुँदा पनि हामी खुसी भएका छौँ ।’

उनका अनुसार समयमा हिमपात नहुँदा सबैभन्दा बढी स्याउ उत्पादनमा असर पर्छ । ‘स्याउ फुल्ने भनेको फागुन, चैतमा हो । फागुन सकिने बेलामा परेको हिमपातले स्याउको जरासम्म सिँचाइ हुँदैन’, उनले भने, ‘आवश्यक मात्रामा न हिमपात भएको छ, न त पानी नै परेको छ  ।’

जिल्लामा जेठमा फापर, चैततिर गहुँ, आलु र केराउ लगाइन्छ । ‘पुसमा हिउँ परेको भए  जमिनमुनीसम्म पानीको मात्रा पुग्छ । अहिले समयमा हिउँ खेतीबाली के राम्रो होला खै ? तापक्रम बढेपछि परेको हिउँ पग्लिएर माथि–माथि नै सुक्छ । बारीमा लगाएको बालीको जरासम्म पुग्दैन’, किसान गुरुङले भने । कार्यवाहक प्रमुख जिल्ला अधिकारी शिशिर घिमिरेले जिल्लामा फागुनको तेस्रो साता लागेपछि मात्रै केही मात्रामा हिमपात हुन सुरु भएको जानकारी दिए । यसबाट किसानलाई केही राहत मिलेको बताए ।

माथिल्लो मनाङमा केही बाक्लो हिमपात भएको छ भने तल्लो मनाङमा आंशिक मात्रामा हिमपात भएको छ । बेमौसममा हिमपात बढ्ने देखिएको उनले बताए । ‘मंसिरदेखि नै प्रायःजसो हिमपात हुन्थ्यो । अहिले फागुनको तेस्रो साता मात्रै हिमपात हुन थालेको छ’, नासो गाउँपालिका-५ का वडाध्यक्ष थुतेन लामाले भने, ‘बल्ल मात्र हिमपातको सुरुआत भएको छ ।’

चिसो र हिमपात छल्न मनाङवासी कात्तिक अन्तिम र मंसिर पहिलो साता बेसी झर्ने गर्दछन् । उनीहरु काठमाडौँ, पोखरा, बेँसीसहरलगायत स्थानतर्फ जाने गर्दछन् । यस पटक भने उनीहरु गाउँघर फर्किने समयमा हिमपातको सुरुआत भएको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय