पर्वत :  राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा सफल महिला उद्यमीको रूपमा ख्याती कमाएकी पर्वत फलेवास नगरपालिकाकी केशाकुमारी परियार ब्लड क्यान्सरबाट पीडीत भएकी छन् ।

उनको हाल सिभिल अस्पतालमा उपचार भइरहेको छ । फलेबासकी पूर्व नगर कार्यपालिका सदस्यसमेत रहेकी केशाकुमारीले सिलाइ बुनाइसँगै र स्थानीय उत्पादनको प्रवर्द्धनका लागि ‘कोसेली घर’ समेत सञ्चालन गरेकी थिइन् । उनी राष्ट्रिय लघु उद्यमी महासंघकी संस्थापक अध्यक्ष पनि हुन् ।

५९ वर्षीया केशाकुमारी ‘बिज्नेस फर पिस अवार्ड २०१४’ बाट नर्वे सरकारले सम्मान गरेको थियो । अन्तर्राष्ट्रिय संस्था यूएनडीपीबाट पनि परियार सम्मानित भएकी थिइन् ।

साढे २ महिनाअघि स्वास्थ्यमा समस्या देखिएपछि पोखरामा प्रारम्भिक परीक्षणपश्चात उनलाई काठमाडौं ल्याइएको थियो । सिभिल अस्पतालमा परीक्षणको क्रममा उनलाई ब्लड क्यान्सर भएको पत्ता लागेको पारिवारिक स्रोतले बताएको छ । बोनम्यारो प्रत्यारोपणका लागि रकम धेरै लाग्ने भएकाले उपचारमा सहयोगको अपेक्षा गरेको छोरी हुमाले बताइन् । हाल अस्पतालले पनि नियमानुसारको छुट दिएर सहयोग गरिरहेकोमा उपचार गराउन त्यो पर्याप्त नभएको उनको भनाइ छ ।

‘अहिले दिनहुँ रगत फेरेर बचाइरहेका छौं । खर्च धेरै लाग्ने भएकाले मनकारी महानुभावहरूबाट सहयोगको अपेक्षा गरेका छौं’, हुमाले आँखीझ्याल डट कम  संग भनिन् ।

सहयोग गर्न चाहनेले राष्ट्रिय वाणिज्य बैंक फलेवास शाखाको खाता नम्बर ३४००१००००९६२९०१० मा जम्मा गर्न सकिने भन्दै उनले केही जिज्ञासाका लागि ९८५७६४०४४६ र ९८०८०४३७६५ मा सम्पर्क गर्न सकिने बताइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय