आँखीझ्यालखबर,  भैरहवा, १४ पुस ।

लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले पत्रकारहरू समाजको अभिन्न अंग भएको बताएका छन् । उनले पत्रकारिता र पत्रकारको संरक्षणमा राज्यले सधैं ध्यान दिनुपर्ने बताए । पत्रकारिता सुरक्षित हुनु भनेको गणतन्त्र र लोकतन्त्रको सुन्दर पक्ष रहेको उनले उल्लेख गरे । लुम्बिनी प्रेस क्लब, रूपन्देहीको ९ औं स्थापना दिवसको अवसरमा शनिबार भैरहवामा आयोजित कार्यक्रममा बोल्दै सभामुख घर्तीमगरले आफू सधै पत्रकारको सुरक्षा, विकास र पक्षमा वकालत गर्दै आएको जनाए ।

उनले पत्रकार र पत्रकारिता क्षेत्रमा पनि केही कमीकमजोरी रहे पनि समग्रमा राम्रा पक्ष धेरै रहेको जनाए । लुम्बिनी प्रेस क्लब जस्ता संस्थाहरूले पत्रकारिता क्षेत्रलाई मर्यादित बनाउँदै लैजानु पर्नेमा जोड दिँदै यसतर्फ सकारात्मक काम हुनेमा आफू विश्वस्त रहने जनाए । प्रदेशसभाले पत्रकारमैत्री र हकअधिकारलाई ग्यारेन्टी हुने गरी कानून बनाउने उनले बताए । ‘हामीले कुनै पनि हालतमा पत्रकारहरूका हकअधिकार कुण्ठित हुन दिँदैनौं, स्वस्थ आलोचना गर्नु पत्रकारको धर्म हो’, उनले भने, ‘यसैले सहकारीमैत्री कानून बन्छ, यसका लागि मैले खेल्नुपर्ने भूमिका खेल्छु ।’

उनले संघीयतालाई असहजतालाई सहज बनाएको जनाए । ‘केन्द्रिकृत शासनलाई घरघरसम्म पुर्याउने शासन नै संघीयता हो,’ उनले भने, ‘सफल कार्यान्वयन गर्नमा सबै लाग्नुपर्छ ।’ सभामुख घर्तीमगरले नेपालको संघीयताको मोडल नेपाल र जर्मनमा बाहेक अन्त कुनै देशमा नभएको बताए । शासन प्रणाली आफैमा नराम्रो नरहेको  बताउँदै सभामुख घर्तीमगरले कहिलेकसो नेपालमा दक्षिणको राजनीतिले प्रभाव पार्ने बताए ।

‘नेपालमा संघीयताको विषयमा अझै टीकाटिप्पणी गर्ने समय भएको छैन’, उनले भने, ‘भर्खर जन्मिएको ६ वर्षको बच्चा कसरी दौडिन सक्छ ? यसैले संघीयतालाई अझ बलियो बनाउँदै लैजाऔं ।’ उनले ब्युरोक्रेसीले राजनीति गर्दा बिग्रेको बताउँदै नेताले नेताको काम नगर्ने, कर्मचारीले कर्मचारीहरूमा काम नगर्दा देश बिग्रिएको आरोप लगाए ।

अहिलेको व्यवस्थामा सबै खराब नरहेको बताउँदै सभामुख घर्तीले राजनीतिमा आउने सबै खराब नहुने तर्क गरे । ‘पात्र दोषी होलान् तर सबै दोषी हुँदैनन् । को को खराब छन् भन्नुपर्छ, तर सबैलाई एकै ठाउँमा राख्नु हुँदैन’, सभामुख घर्तीमगरले भने  । एउटा घटनालाई लिएर सबैलाई दोषी भन्नु राम्रो नभएको बताउँदै उनले समाजमा ३ थरिका मान्छे भएको तर्क गरे । ‘एक थरिले देशको बारेमा बुझ्छन्, जे दियो त्यो सम्हाल्छन् । अर्को मान्छे गतिला इमानदारी तर भनेर गर्ने, नभने नगर्ने खालका छन्, अटेरी छन्’, उनले भने, ‘पहिलो जिम्मेवारी, दोस्रो आज्ञाकारी, तेस्रो अटेरी खालका मान्छे भएको र अहिले अटेरी खालको ट्रेन हाबी भएको छ ।’

 

लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ता (सीके) ले विकसित मुलुक बनाउन आजैबाट सुरुवात गर्नुपर्ने बताए । कुनै नेताले राम्रो गर्न सके त्यही पार्टीबाट असहयोग हुने उनको तर्क थियो । सत्तामा मात्रै कसरी टिकिइरहने भन्ने मात्रै नेतामा चिन्ता भएका कारण आज युवा पलायन भएको उनले बताए । परिवार चलाउन युवा परदेश जानू बाध्यता रहेको तर्क गरे । ‘ठूला दलले प्रदेश सरकारलाई नेताकार्यकर्ता थुपार्ने थलो बनाएका छन्’, उनले भने, ‘प्रदेश सरकारलाई अधिकार नै छैन । कसरी संघीयता बलियो हुन्छ ।’

उनले नेपाल भनेको काठमाडौं मात्रै हो भन्ने मानसिकता बिकास भएको बताए । ‘खेतीपातीको बारेमा थाहा छैन, त्यही कृषि मन्त्री हुन्छ’, उनले भने, ‘देशलाई बिकसित बनाउन कृषिको आधुनिकरण गर्नुपर्छ । त्यो बुझेको र गर्न सक्नेलाई मन्त्री बनाउनुपर्छ ।’ उनले लुम्बिनी प्रेस क्लबले पत्रकारिताको विकासमा महत्वपूर्ण योगदान दिएको जनाए । पत्रकारले कलमका माध्यमबाट गर्ने सकारात्मक आलोचनालाई सधैं नेतृत्व तहमा बस्नेले स्वीकार गर्दै कमीकमजोरी सुधारेर अघि बढ्नुपर्ने उनले जोड दिए ।

सिद्धार्थनगर नगरपालिकाका नगरप्रमुख इस्तियाक अहमद खानले पर्यटकलाई टिकाउनका लागी सबैले मिलेर काम गर्नुपर्ने बताए । सिद्धार्थनगर पर्यटकीय सहर बनाउन सबैको सहयोगको अपेक्षा गर्दै खानले पर्यटकलाई अतिथिको रुपमा व्यवहार गर्नुपर्ने बताए । उनले लुम्बिनी प्रेस क्लब र यसमा आबद्ध पत्रकारहरूले समाज र देशका लागि गरेको योगदान महत्वपूर्ण रहेको उल्लेख गरे ।

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव बिक्रम खड्काले पत्रकारले पेशागत धर्म निभाउनु पर्ने बताए । राज्य सत्ताको सञ्चार सदैब विपक्षमा रहनुपर्ने बताउँदै आफ्नो धर्म नछाडेर काम गर्नुपर्नेमा जोड दिए । उनले पत्रकारहरूले क्षमता वृद्धिका कार्य गर्नुपर्नेमा जोड दिँदै लुम्बिनी प्रेस क्लबले संचारक्षेत्रमा गरेको योगदान गर्विलो रहेको उल्लेख गरे ।

संचारकर्मीलाई संघीयता अझै नआएको तर्क गर्दै उनले सानो कामका लागि राजधानी जानुपर्ने बाध्यता रहेको बताए । लुम्बिनी प्रदेशमा संचारका कानुन नबन्दा संघीयताको महसुस पत्रकारलाई नभएको बताए । लुम्बिनी प्रदेशमा ५० प्रतिशत पत्रकारलाई ससम्मान बिदाइ गरेको बताउँदै खड्काले पत्रकारको शुद्धीकरणका लागि समेत पत्रकार महासंघले अभियान थालेको बताए । शुद्धीकरण संगसंगै क्षमता अभिबृद्धिका लागि समेत महासंघले भूमिका खेलेको बताए ।

नेपाल पत्रकार महासंघ, रूपन्देहीका अध्यक्ष रामराज पोखरेलले पछिल्लो समयमा पत्रकार कति आलोचक र प्रशंसक हुने भन्नेमा सचेत नभएको बताए । पोखरेलले पत्रकार बढी लम्पसार र बढी आलोचक हुनबाट बच्नुपर्ने बताए । उनले सत्तालाई सधै प्रश्न गर्नुपर्ने जनाए । प्रेस क्लबले यो क्षेत्रका आफ्नो भूमिका निभाएको उनले जनाए । हजारौं युवाहरुको बिमानस्थलमा लाइन लागेको तर्क गर्दै पोखरेललले सवै मिलेर सुधार गरी देश बनाउनु पर्ने बताए । राजनीतिक नेतृत्व र कर्मचारीतन्त्रका कारण देशका युवा पलायन भइरहेको उनको आरोप छ ।

लुम्बिनी प्रेस क्लबका कार्यबाहक अध्यक्ष कमल रायमाझीले क्लब सदैब गतिशिलरुपमा संचार क्षेत्रको विकास गर्न, विसंगतीविरुद्ध आवाज बुलन्द गर्न र समाज रुपान्तरणमा अघि बढेको जनाए । सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा अधिकारीले सामुूहिकरुपमा गर्ने राम्रा कार्यलाई सबैले अपनत्व लिनुपर्ने बताइन् । यहाँको एजेन्डा सुन्दर नगर, पर्यटकीय नगर बनाउन लागिपरेको बताउंदै नगरको बिकासमा सबैले हातेमालो गर्नुपर्ने बताइन् । यसमा प्रेस क्लबले खबरदारीसहित साथ र सहयोग गर्दै आएको उनको भनाई छ ।

नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले राज्यले उद्योगीलाई बचाउने, लामो समय टिक्ने नीति बनाउनु पर्ने बताए । राज्यले राजस्व मात्रै लिने तर उद्योगको बिकासका निम्ति भूमिका नखेल्दा उद्योगी धरासायी बनेको तर्क गरे । उनले प्रेस क्लबमा आबद्ध पत्रकारहरुले राज्यलाई झकझक्याउने काम गरिरहेको जनाउँदै आगामी दिनमा पनि आर्थिक विकासका क्षेत्रमा सहकार्य गर्न अनुरोध गरे ।

लुम्बिनी प्रेस क्लबका निबर्तमान अध्यक्ष नरेश केसीले लुम्बिनी प्रेस क्लब पत्रकारिताको क्षेत्रको विकास, विस्तार र सभ्यसमाज निर्माणमा क्रियाशिल भएको बताए । उनले पत्रकारका हकहितका निम्ति सदैब तत्पर रहेको बताए । क्लबले आफ्नो ९औं स्थापना दिवसको अवसरमा भैरहवा–लुम्बिनी २२ किमी लामो बौद्ध सञ्चार यात्रा र लुम्बिनी सुपर सिक्सेस कर्पोरेट क्रिकेट प्रतियोगिता गरेको थियो । कार्यक्रममा संचार यात्रामा सहभागीहरुलाई सम्मान गरिएको थियो । यस्तै, सहयोगी संस्था र प्रेस क्लबका संस्थापक पदाधिकारीलाई पनि सम्मान गरिएको थियो । २०७२ सालमा स्थापित क्लबमा भैरहवा, लुम्बिनी र धकधई क्षेत्रका ४० जना पत्रकारहरू आबद्ध छन् । क्लबले पत्रकारितासँगै समाजमा सकारात्मक सन्देश दिने खालका कार्यक्रम गर्दै आएको छ ।

 

पत्रकार शर्मालाई प्रेस रत्न, पछाईलाई प्रेसिडेन्सियल अवार्ड

यसैबीच लुम्बिनी प्रेस क्लबले आफ्नो ९ औं स्थापना दिवसको अवसरमा दुई जना पत्रकारलाई नगदसहित सम्मान गरेको छ । क्लबले ‘लुम्बिनी प्रेस रत्न २०८०’ बाट नगद २५ हजार राशीसहित प्रेस क्लबका सल्लाहकार मनोरञ्जन शर्मालाई सम्मान गरेको छ । त्यसैगरी प्रेसिडेन्सियल अवार्डबाट प्रेस क्लबका पूर्व अध्यक्ष दिपेश पछाईलाई ११ हजार नगद राशी सहित सम्मान पत्रले सम्मानित गरिएको हो । दुई दशकदेखि पत्रकारितामा क्रियाशील पत्रकारद्वय शर्मा कारोबार दैनिकमा आबद्ध छन् भने पछाइ मेचीकाली दैनिकमा आबद्ध छन् ।

#lumbaninews #aankhijhyal #aankhijhyaalnews

#Aankhi Jhyaalnews

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय