आँखीझ्याल खबर , १२ कार्तिक २०८० पर्वत : गाउँका जनतालाई स्वास्थ्य सेवा प्रदान गर्न भनी स्थापना गरिएको प्राथमिक स्वास्थ्य केन्द्रमा विगत एक वर्षदेखि डाक्टर छैनन् । डाक्टर नहुँदा स्वास्थ्य सेवा लिन पर्ने सर्वसाधारण मर्कामा परेका छन् ।

डाक्टरविहीन रहेको पर्वतको कुश्मा नगरपालिका–१२ को ठुलीपोखरी प्राथमिक स्वास्थ्य केन्द्रको दुई वर्षदेखि एक्सरे मेसिन समेत प्रयोगविहीन छ । स्वास्थ्य चौकीमा डाक्टर नहुने र भएका स्वास्थ्य उपकरण पनि प्रयोगविहीन भएपछि स्वास्थ्य सेवा लिनेलाई सास्ती भएको छ ।

विगतमा दैनिकजसो ४० देखि ५० जना व्यक्तिसम्म स्वास्थ्य सेवा लिंदैआएकोमा यतिखेर डाक्टर नहुँदा सङ्ख्या घटेर १५ देखि २० जनामा झरेको छ ।

स्वास्थ्य चौकीमा निमित्त प्रमुखको जिम्मेवारी सम्हाल्नु भएकी अनमी भिमकुमारी शर्माले भन्नुभयो, “डाक्टर छैनन् भनेपछि सर्वसाधारणमा स्वास्थ्य संस्थाप्रति विश्वास कम हुने रहेछ । एकातिर डाक्टर नहुने अर्कोतिर भएका स्वास्थ्य उपकरण समेत बन्द हुँदा स्वास्थ्य सेवा प्रभावित बनेको छ ।”

स्वास्थ्य चौकीमा कार्यरत अनमी देवीकुमारी शर्माले भिडियो एक्स-रे चलाउन जान्ने व्यक्ति नहुँदा सबैभन्दा बढी गर्भवती स्वास्थ्य सेवा प्रभावित बनेको बताउँदै उहाँले भन्नुभयो, “भिडियो एक्स-रे मेसिन हामीसँग छ, तर चलाउन जान्ने दक्ष व्यक्ति छैनन् । चलाउन जान्ने स्टाफनर्स सरुवा भएर जानुभयो । अरूलाई आउँदैन । छिटोभन्दा छिटो तालिम दिन सकेमा गर्भवती भएका दिदीबैनीहरु परीक्षणका लागि टाढा धाउनु पर्ने थिएन ।”

गत आर्थिक वर्ष २०७९/८० मा सुत्केरी स्वास्थ्य सेवा ४० जनाले लिएका थिए भने अहिले साउनदेखि यता भने भिडियो एक्स-रे सेवाको अभावका कारण जम्मा ५ जनाले मात्रै लिएको स्वास्थ्यकर्मीको भनाइ छ । निमित्त प्रमुख शर्माका अनुसार स्वास्थ्य चौकीमा एकजना डाक्टर र एक स्टाफ नर्ससहित ९ जना स्वास्थ्यकर्मीको दरबन्दी भए पनि जम्मा ६ जना मात्रै कार्यरत छन् ।

ठूलीपोखरी स्वास्थ्य चौकीमा सेवा लिनका लागि थापाठाना, आर्थर, कार्कीनेटा, शंकरपोखरी, स्याङ्जाको अर्जुनचौपारीदेखि बिरामी आउने गर्दछन् । डाक्टर र स्वास्थ्य उपकरण नहुँदा सामान्य स्वास्थ्य उपचार सेवाका लागि समेत जिल्ला अस्पताल र पोखरातिर धाउन पर्ने बाध्यता आइपरेको छ ।

गुणस्तरीय स्वास्थ्य सेवाका लागि दरबन्दीअनुसारको डाक्टर ल्याउन र लाखौँ लागतको एक्स-रे मेसिन मर्मतका लागि कसैले पहल नगरेको स्थानीयवासीको गुनासो छ ।

स्वास्थ्यकर्मी रविना परियारका अनुसार स्वास्थ्य चौकीमा रहेको एक्स-रे मेसिन बिग्रिएर थन्किएको दुई वर्ष भइसकेको छ । ठूलीपोखरी स्वास्थ्य चौकीमा ७ महिना पहिले २०७९ फागुन २१ देखि २३ गतेसम्म वृहत् निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको थियो ।

तीन दिनको स्वास्थ्य शिविरको आयोजक सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय निजामती कर्मचारी अस्पताल मिनभवन काठमाडौँ र सह–आयोजकमा कुश्मा नगरपालिका रहेका थिए । निःशुल्क भनिएको स्वास्थ्य शिविर सञ्चालनमा विनियोजित रकमभन्दा बढी खर्च भएपछि शिविर नै विवादित बनेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय