आँखीझ्याल खबर , पर्वत :

पैयुँ रुखको नामवाट पैयुँ राज्यको नामकरण भएको ऐतिहासिक तथ्यले जनाउँदछ । यो राज्य मुक्तिनाथको १०८ वटा धाराबाट सुरु भएको कालीगण्डकीको बाँया किनारामा अवस्थित रहेको छ । दक्षिणी भेगमा उत्तरबाट दक्षिणतिर फैलिएको एउटा टापु जसलाई पैँयुकोटले चिनिन्थ्यो ।

यो कोटको अधिकांश भुभाग पैयुँको घारी भएको टाकुराको कोटलाई नै पैयुकोट भन्न थालियो । पैयुकोटको डाँडाको टुप्पामा समथर चौडा भुभाग रहेको थियो । यही चौडा भुभागमा कोट मन्दिर बनाइएको थियो । यहाँ घोडालाई पैया कुदाएर तालिम गर्न मिल्ने फराकिलोमैदानमा कोट घर बनाइएकोले पैयुकोट नाम रहन गयो ।

पैँयु राज्यको पूर्व सिमाना पवित्र शालिग्राम विश्वमा परिचित कालीगण्डकी रहेको थियो । यसै गरी पश्चिम उतर सिमाना शक्तिशाली राज्य पर्वत रहेको थियो । यसैगरी दक्षिणतर्फ गुल्मीे, खाँची र अर्घा राज्यहरू रहेका थिए । गण्डकी प्रस्रवण त्यस क्षेत्रमा नेपालको मध्यकालमा लिच्छविहरूको सम्प्रभुता कायम थियो । लिच्छविपछि मगरात प्रदेशमा मगरहरूको बाहुल्यता भएका कारण पैयुँ मगरहरूको बल्डेङ गढी राज्य अन्तर्गत गएको देखन्छ ।

पाल्पाली राजा मुकुन्दसेन प्रथमले गुल्मी, अर्घा र खाँचीको मद्दतले बल्डेङ गढी राज्यलाई विलुप्त पारिदिए त्यसपछि पैँयुमा आले, राना, चितौरे, थापा, मगरहरूको संयुक्त मुख्यौली शासन चल्न थाल्यो । चारथरी मगरहरूको आपसमा मेल खान नसकी झगडा हुन थाल्यो । उनीहरूमा वरपरका राजपूत राजा भएका राज्य शासनको प्रभाव परेको बुझियो। फलतः चारथरी मगर हरूले राजा खोजेर ल्याउने निधो गरे । उनीहरू मध्ये गज्जु आले, पीउर राना, शेरु चितौरे र वदल थापा राजा खोज्न हिडे । अहिलेका नेता भनाउदाहरू पदको लागि जस्तो हर्कत गरेको पनि पाइन्छ । राजा खोज्न उनीहरू बनारसको उत्तर घाँसपानीको राजपुतहरूको बासी गाउँ पुगे । बासी बस्तीका राजपुत नाइकेको छोरा रामसिंह सेन राज्य थाप्न भनी मागेर रामसिंह सेनको गर्भिणी पत्नीलाई समेत बोकेर हिडे । उनीहरू बोकेर ल्याउने क्रममा जङ्गलको बाटो बिच बिचमा बास बस्तै झमझम पानीमा कालुङ्खोला, पालुङ्खोला, उर्लेनी, गुम्दीखोला हुदै आए । राति बास बसेको ठाउँमा पुत्र जन्मेको हुँदा यस ठाउँलाई पुत्रघाट भन्दा भन्दै पुर्तिघाट भन्न थालियो । पूर्तिघाटबाट बडो कठिनका साथ कालीगण्डकी पार गरी इमीचौर हुदै विहादी आइपुगे । विहादीमा ११ दिनसम्म राजा रानीलाई राखियो । यहाँको पँधेरोमा सुत्केरी रानी र नवजात बालकलाई नुहाइ न्वारन गरी पानी छोएको हुँदा यस ठाउँलाई रानीपानी नामकरण गरेको स्पस्ट हुन्छ ।

रानीपानीबाट कुणादी, पुर्णगाम, देउराली नजिक पुग्दा रात परी बास बस्नु भयो । बास बसेको ठाउँमा छोरा पाएको खुसीयालीमा ठुलो भोज भतेर गरियो । यसरी भोजभतेर गरेको ठाउँलाई भतेरपाटा नामकरण गरियो । भोज भतेर सकेपछि रामसिंह सेन बि.सं १५०२ मा पैयुकोटमा उनलाई राजा बनाइयो । त्यो दिन विजया दशमी परेको थियो । पैँयु राज्यमा रामसिंह सेन, लाभसिंह सेन, चामसिंह सेन, दागम्बरसिंह सेन र संग्रामसिंह सेन राजा भएका थिए ।

तस्विर :दिपक जोशी

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय