रुकुमपूर्व, २२ मङ्सिर
रुकुमपूर्व अस्पताल निर्माण गरिएको लामो समयपछि त्यसै ठाउँमा ५० श्ययाको अस्पताल निर्माण गरिने भएको छ । सिस्ने गाउँपालिका–५ स्थित पुरानै अस्पताल रहेको ठाउँमा पचास श्ययाको नयाँ संरचना निर्माण गर्न लागिएको हो । सो गाउँपालिकाको अध्यक्ष कुमारी बराल, प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटा, अस्पताल विकास समिति अध्यक्ष फत्तेकुमारी ओली, अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ड डाक्टर गनेश चौधरीले आज संयुक्तरुपमा अस्पताल भवनको शिलान्यास गर्नुभएको छ ।

लुम्बिनी प्रदेश सरकार ग्रामीण तथा शहरी विकास मन्त्रालयबाट प्राप्त बजेट र शहरी विकास तथा भवन कार्यालय दाङको प्राविधिक सहयोगमा भ्याटबाहेक रु १५ करोड ५७ लाख ४५ हजार ९२९ लगानीमा सो अस्पतालको भवन निर्माण हुने लागेको बताइएको छ । खड्का–पिएस–जेभी निर्माण कम्पनीले भवन निर्माणको जिम्मा लिएको छ । गत जेठ ३ गतेदेखि काम सुरु भएकामा आगामी २०८० साउन २० गते अर्थात् अबको दुई वर्षमा भवन निर्माण गरिसक्ने भनेर सम्झौता भएको निर्माण सेवा कम्पनीका प्रतिनिधि प्रकाश शाहले जानकारी दिनुभयो ।

निर्माण सम्पन्न गर्नुपर्ने समयावधिभन्दा छ महिना अगाडि नै भवन तयार गरिसक्ने गरी काम गर्ने पनि उहाँले बताउनुभयो । अस्पतालले आवश्यक संरचना नहुँदा साविकको स्वास्थ्यचौकीको भवनबाट अस्पतालको सेवा दिइरहेको छ । जिल्लाकै ठूलो अस्पताल रुकुमपूर्व अस्पतालमा अहिले भवन अभावकै कारण १५ श्ययाको सेवा सञ्चालन भइरहेको अस्पताल स्रोतले जनाएको छ ।

अस्पतालमा आवश्यक औषधि नभएको र यसका लागि प्रदेश सरकारसँग बारम्बार माग गर्दा पनि सुनुवाइ नभएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर चौधरीको गुनासो छ । अस्पतालको नयाँ संरचना निर्माणको काम थालिएसँगै सेवा प्रवाहको कुरामा पनि सुधार आउने अपेक्षा यहाँका नागरिकले गरेका छन् । नयाँ संरचनाअनुसार रुकुमपूर्व अस्पताल अपाङ्गता मैत्री, पर्याप्त शौचालय, बगैँचा र पर्याप्त पार्किङ सुविधासहितको हुने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय