काठमाडौँ  :  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण प्रतिनिधिसभाको आजको बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ ।

एमालेका सांसदहरूले त्रिभुवन विमानस्थलबाट भएको सुन तस्करीको सत्य तथ्य छानबिन गर्न उच्चस्तरीय समितिको गठन गर्नुपर्ने, गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने लगायतका माग राख्दै नाराबाजी गरेपछि बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको हो ।

यसअघि बैठकको सुरुमा आकस्मिक समय लिएर बोल्ने सांसदहरूले सुन तस्करीलगायत विभिन्न समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

बैठकको सुरुमा समय लिएर बोल्दै सांसदहरुले सरकारका जिम्मेवार मन्त्री तथा उच्च अधिकारीहरूको संरक्षणमा सुन तस्करी भएको देखिएकोले नैतिकताका आधारमा गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिनुपर्ने माग गर्नुभयो ।

सांसदहरुले ई–सिग्रेट, मोटर पार्टस् लगायतका वस्तुको हवाई मार्गमार्फत अस्वाभाविक आयात भएको देखिएको र त्यसमा समेत सुन तस्करी भएको आशङ्का भएकोले सबैको एकमुष्ट छानविन गर्न माग गर्नुभयो ।

सांसदहरूले सुन तस्करी प्रकरणको विश्वसनीय छानबिनका लागि उच्चस्तरीय छानविन समितिको गठन गर्न समेत माग गर्नुभयो ।

यस्तै, सांसदरूले तराईका विभिन्न जिल्लाहरूमा नियमित वर्षा नभएका कारण किसानहरुले रोपाइँ गर्न नपाएको, विद्युत् प्राधिकरणको अघोषित लोडसेडिङका कारण उपभोक्ताहरू मारमा परेको, लम्पी स्कीन महामारीका कारण हजारौँ पशु–चौपाया मर्दा समेत सरकारले किसानलाई राहत दिने कुनै कार्यक्रम ल्याउन नसकेको प्रति सरकारको जवाफ माग गर्नुभयो ।

सांसदहरूले खर्च कटौतीका नाममा सामुदायिक विद्यालयका विद्यार्थीको दिवा खाजाको बजेट कटौती नगर्न, वैदेशिक रोजगारीका क्रममा विदेशमा ज्यान गुमाएका नेपाली श्रमिकको शव सहज रूपमा स्वदेश फर्काउने व्यवस्था मिलाउन तथा जातीय विभेद तथा लैङ्गिक हिंसाका घटनामा संलग्न व्यक्तिलाई कानुनी कारबाहीको दायरामा ल्याउन पनि सरकारसँग माग गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय