चितवन, असोज ४-

भरतपुर महानगरका झण्डै ४२ हजार बालबालिका पठनपाठनबाट बञ्चित भएका छन् ।

शिक्षक महासंघको आन्दोलनका कारणले ११२ वटा सामुदायिक विद्यालय बन्द हुँदा ४१ हजार ९०० बालबालिका पढाइबाट बञ्चित भएका हुन् ।
भरतपुर महानगर क्षेत्रमा ५२ वटा सामुदायिक माध्यमिक विद्यालय र विशेष विद्यालयसहित ६० वटा आधारभूत विद्यालय रहेका छन् । भरतपुर महानगर शिक्षा विभाग प्रमुख महेन्द्रप्रसाद पौडेलका अनुसार शिक्षकको आन्दोलनको कारणले विद्यालयको पठनपाठन आज ठप्प भएको छ । उनले वार्ता छिट्टै टुंगिने आशा व्यक्त गर्दै धेरै दिन पठनपाठन बन्द भएमा महानगरको बोर्ड बैठक बसेर ठोस निर्णय गर्नुपर्ने नारायणी अनलाइनलाई जानकारी दिए ।

 

महानगर शिक्षा विभागले आज प्रेषित गरेको विज्ञप्तिमा बालबालिकाको नियमित सिकाइ क्रियाकलापमा सहभागी हुन पाउने अधिकारप्रति संवेदनशिल र जिम्मेवार बन्न अनुरोध गरिएको छ । विज्ञप्तिमा शिक्षकहरुलाई पठनपाठन अवरुद्ध गर्ने भन्दा बाहेकका विरोधका अन्य वैकल्पिक स्वरुपहरु अवलम्बन गर्न अनुरोध गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘ नेपाल सरकारद्वारा हालै संसदमा पेस भएको विद्यालय शिक्षा ऐन–२०८० को विधेयकमा समाविष्ट प्रावधानप्रति असहमति जनाउँदै नेपाल शिक्षक महासंघद्वारा विद्यालयको नियमित पठनपाठन अवरुद्ध हुने गरी आन्दोलनका कार्यक्रम सार्वजनिक भएकोप्रति यस महानगरको गम्भीर ध्यानाकर्षण भएको छ । संसदमा पेस भएको उक्त विधेयक नेपालको संविधान र संघीयताको मर्म र भावना अनुरुप नभएको भनी विभिन्न सरोकारवाला पक्षहरुबाट धारणा सार्वजनिक भएको र विधेयकका कतिपय विषयमा यस महानगरको पनि असहमति रहेको जानकारी गराउँछौं । ’ आन्दोलनरत शिक्षकहरुसँग सार्थक वार्ता गरेर समस्या समाधान गर्न पनि महानगरपालिकाले विज्ञप्तिमार्फत् अपिल गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय