पर्वत : पर्वतमा करोडौँ रुपैयाँ लगानीमा निर्माण भएका चिस्यान गृहहरु प्रयोगमा नआउँदा अलपत्र भएका छन् । किसानले तरकारी तथा फलफूल सिधै व्यापारीलाई ठेक्कामा बिक्री गर्दा चिस्यानगृह प्रयोगविहीन भएका हुन् । प्रयोग भएका कतिपय चिस्यान गृहहरु पनि आंशिकमात्रामा सञ्चालनमा रहेका छन् । कृषि ज्ञानकेन्द्र पर्वतका अनुसार हाल जिल्लाभित्र विभिन्न प्रकृति र उद्देश्यका आठ वटा चिस्यान केन्द्र छन् ।

जिल्लाभित्र रहेको चिस्यान गृहको क्षमता करिब ६४ दशमलव पाँच मेट्रिकटन छ । तीमध्ये १० मेट्रिकटन क्षमताका भोक्सिङ, शालिजा र बनौँमा रहेका तीन वटा चिस्यान गृहमा फलफूल तरकारीको यामका बेलामात्र आलु भण्डारण गर्ने गरिन्छ । त्यसैगरी बाँसखर्कमा १० मेट्रिकटन क्षमता रहेको एक र कुर्घामा दुई दशमलव पाँच मेट्रिकटन क्षमता रहेका दुई वटा चिस्यान केन्द्रमा मौसमअनुसार सुन्तला र आलु भण्डारण गरिँदै आएको छ ।

‘हामी जसरी कोल्ड रुम बनाउन बजेटका लागि खट्छौँ, भनसुन गर्छौं, त्यसैअनुसार सञ्चालनमा समेत यथोचित ध्यान नदिँदा अपेक्षित लाभ दिन नसकेका हुन्’ कृषि ज्ञानकेन्द्र, पर्वतका प्रमुख मनिता थापाले भन्नुभयो, ‘सरकारले भौतिक संरचनाका लागि मात्र बजेट विनियोजन गर्नुभन्दा निर्माणपश्चात्का जटिलता, प्राविधिक ज्ञान, सहुलित विद्युत्लगायतका पक्षमा समेत यथोचित ध्यान दिनुपर्छ ।’

थापाले चिस्यान केन्द्र निर्माण गरे पनि कृषकले भण्डारण नगरी ठेक्कामै आफ्ना उत्पादन बेच्ने परिपाटी विकसित हुँदै गएको र कृषि उपज टिप्ने, सङ्कलन गर्ने तथा भण्डारण गर्ने आवश्यक ज्ञान उनीहरुमा नदेखिएको हुँदा फसल लामो समयका लागि स्टोर गर्न समस्या देखिएको बताउनुभयो ।

त्यसैगरी पाँच वर्षअघि कुश्मा नगरपालिका–९ कटुवाचौपारीको बाह्रबीसेमा निर्माण गरिएको कोल्डरुममा आलु भण्डारण हुँदै आएको छ । कटुवाचौपारीको कोल्डरुममा विगत चार वर्षसम्म प्राविधिक ज्ञानको अभावका कारण केही कृषिउपज कुहिएर गएका थिए भने पछिल्लो समय आलु भण्डारण सफल देखिएको सञ्चालक राजबाबु पिसीले जानकारी दिनुभयो । उहाँले आगामी दिनमा मासु स्टोर गर्न सकिने कोल्डरुम निर्माणको सोचमा आफू रहेको जानकारी दिनुभयो ।

त्यसैगरी पैयुँ गाउँपालिका–४ हातेमालो चोकमा चिस्यान गृह निर्माण सम्पन्न भएर पनि हालसम्म सञ्चालनमा आउन सकेको छैन । पैँयुको चिस्यान गृह निर्माणका लागि कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्र, ललितपुरको ११ लाख र पैँयु गाउँपालिकाको ११ लाख रुपैयाँ लगानी रहेको छ । तर विद्युत् जडान समस्याका कारण हालसम्म सञ्चालनमा आउन नसकेको पैँयु कृषि शाखाका नायब प्राविधिक सहायक सन्दीप तिवारीले जानकारी दिनुभयो ।

‘सरकार तथा व्यक्ति भौतिक संरचना निर्माणका क्रममा अहोरात्र खट्ने तर निर्माणपश्चात्को व्यवस्थापकीय पक्षमा उदासिन देखिने प्रवृत्तिका कारण चिस्यान गृह अपेक्षाअनुसार सफल हुन नसकेका हुन्,’ स्थानीय कृषक सरोज खनालले भन्नुभयो, ’सरकारले भौतिक संरचना निर्माणमा मात्र होइन दीर्घकालसम्म कोल्डरुम सञ्चालनमा समेत नीति नै बनाएर कृषक सँगसँगै हातेमालो गर्नुपर्छ । तबमात्र कृषकका लागि ल्याएका सुविधा सार्थक र कृषक केन्द्रित हुनेछन् ।’

कृषिउपज टिप्ने, अल्पकालीन भण्डारण गर्ने तथा ढुवानी गर्नेलगायतका विषयमा यथेष्ट ज्ञान, कोल्डरुमसम्बन्धी प्राविधिक ज्ञान र सहुलित विद्युत् उपलब्ध गराउने सरकारको नीति नबन्दासम्म लगानी परिणामुखी नहुने सरोकारवालाको भनाइ छ ।

दक्ष प्राविधिक तथा ज्ञान, विद्युतीकरण र सहुलियत विद्युत् उपलब्ध गराउने नीतिको अभावका कारण समस्या हुने गरेको सुन्तला कृषक उमाकान्त शर्माले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय