गलकोट, २४ कात्तिक
लगानीको अभावमा विदेश पुगेका नेपाली विदेशबाट फर्केर उद्यममा जोडिनेको लहर नै छ । नेपालमा लगानी जुटाउन नसकेका युवा विदेशमा गएर केही अर्थ उपार्जन गरेपछि भने नेपालमा फर्केर लगानी गर्न थाल्नुभएको छ ।

लामो समय बेलायतमा बस्नुभएका गलकोट नगरपालिका–३ हटियाका नरबहादुर भण्डारीले विगत ९ वर्षदेखि गलकोटमा आफ्नै उद्यम थाल्नुभएको छ । उहाँले गलकोट नगरपालिका–३ सिमखेतमा साढे पाँच रोपनी जग्गामा व्यावसायिक तरकारी खेती, पुष्प खेती, रेष्टुराँ र पार्टी प्यालेस व्यवसाय गर्दै आउनुभएको छ । सिमखेतमा उहाँले २०६९ सालदेखि कृषि पेसा थाल्नुभएको हो । पछि उहाँले रेष्टुराँ र पार्टी प्यालेस पनि सञ्चालन गर्नुभयो । सुरुआतमा भण्डारी रोजगारीका लागि भारत जानुभयो । डेढ दशक भारतमा बिताउनुभएका उहाँ त्यहीँबाट केन्या पुग्नुभयो । केन्यामा ११ वर्ष काम गर्नुभएका भण्डारी पुनः बेलायत फर्किनुभयो ।

तीन दशकको वैदेशिक यात्रा टुङ्ग्याएर भण्डारीले गाउँमै उद्यम थाल्नुभएको छ । उहाँले रु दुई करोड ५० लाखको लगानी गरिसक्नुभएको छ । श्रीमती लोक कुमारी, छोरा भगवान र बुहारी राधिकाको सहयोगमा भण्डारीले विभिन्न उद्यम गर्दै आउनुभएको छ । उहाँले तीन जनालाई रोजगारी प्रदान गर्नुभएको छ । भण्डारीले थप तरकारी खेतीका लागि तीन रोपनी जग्गा भाडामा लिनुभएको छ ।

“पुष्प खेती गरेको छु, रेष्टुराँ र पार्टी प्यालेसलाई चाहिने सामग्री आफँै उत्पादन गर्छु”, उहाँले भन्नुभयो । वैदेशिक यात्राका क्रममा निकै दुःख भोग्नु परे पनि स्वदेशमा फर्केर परिवारसँग रमाउन पाउँदा आनन्द महसुस भइरहेको भण्डारी बताउनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय