कुश्मा बजारको शिवालय चोकमा ‘हाई–मास्ट’ लाइट जडान गरिएको छ । करिव दश लाख रुपैयाँ लागतमा कुश्मा बजारको मुख्य चोक मानिने शिलालय चोकमा हाई–मास्ट लाइट जडान गरी संचालनमा ल्याइएको हो ।
चोरी तस्करी नियन्त्रणसँगै बजारक्षेत्रलाई उज्यालो शहर बनाउने उद्देश्यले बजार क्षेत्रको मुख्य चोकमा उक्त लाइट जडान गरिएको कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले जानकारी दिनुभयो ।

‘सुरक्षा र उज्यालोलाई मध्येनजर गरेर नगरको मुख्य चोक, मानिसको बढी आवतजावत र भीडभाड हुने स्थान सँगै धार्मिक र पर्यटकिय स्थाललाई केन्दित गरेर लाईट जडान गर्ने योजना रहेको छ,’उहाँले भन्नुभयो ।

धौलागिरि अञ्चलका चार जिल्ला जोड्ने एकमात्र मुख्य सडक पोखरा–बागलुङ राजमार्ग प्रवेशद्धार मानिने शिवालय चोकलाई प्राथमिकतामा राखेर लाइट जडान गरिएको छ । नगरप्रमुख जोशीका अनुसार बिजुलीबाट चल्ने यी बत्तीहरू बाल्दा लाग्ने विद्युत महसुल र पोलको भाडा नगरपालिका स्वयंले नै बेहोर्ने छ । विद्युत र पोल भाडा गरी एउटा पोलको मासिक १० हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

अग्लो र धेरै क्षेत्र समेटने हाइ–मास्ट लाइट सेन्सरमा आधारित छ । अँध्यारो हुँदै गए आफैं बल्ने र उज्याले भए आफै निभ्ने उक्त लाइटले २०० मिटर वरपरको भागलाई उज्यालो दिने निर्माण कम्पनी –एक्सन एक्टीभ इनर्जी) का प्रोपाइटर केशवराज शर्मा चालिसेले बताउनु भयो ।
१६ मिटर उचाइका हाइ–मास्ट लाइटका लागि अण्डर ग्राउण्ड विद्युत लाइन प्रयोग गरिएको छ । १६ मिटरको पोलमा ८ वटा ३२ वाटका एलईडी लाइट जडान गरिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय