जनकपुर, २८ मङ्सिर
नेपालमा जन्मिए लगत्तै जन्मदत्र्ता र १६ वर्ष उमेर पुगेपछि नागरिकता पाउने व्यवस्था छ । तर सप्तरीको बोदे बसाईन नगरपालिका–७ बगबिराका ६५ वर्षीय जिवछ सदा र ५५ वर्षीय देवनारायण सदाले अझै नागरिकता पाउन सक्नुभएको छैन् ।

हरेक नेपालीले सहज रुपमा पाउनुपर्ने नागरिकता प्रमाणपत्रका लागि जनप्रतिनिधि, कर्मचारीदेखि ठूला नेतासम्मलाई गुहार गरेपनि अझै नागरिकता पाउन नसकेको सदाको गुनासो छ । सदाद्वयले नागरिकता नपाउँदा उहाँहरुको सिङ्गो परिवार अहिले आफ्नो पहिचान खोज्न ठूलै सङ्घर्ष गरिरहेका छन् । ‘‘नेपालमै जन्मिए, यही हुर्किए तर अहिलेसम्म आफू नेपाली भएको कुनै पहिचान नै पाउन सकिन”, जिवछले भन्नुभयो, ‘‘घरको मूल व्यक्ति मेरै नागरिकता नभएपछि आफ्नो सिङ्गो परिवारनै पहिचान विहीन बनेको छ ।”

उहाँको नागरिकता नबन्दा उहाँको श्रीमती ६० वर्षीया अमिरकादेवी सदा, उहाँको जेठो छोरा ३५ वर्षीय जीतेन्द्र सदा, बुहारी २८ वर्षीया सरस्वती सदा, जेठी छोरी २५ वर्षीय मनिष सदा र कान्छी छोरी १८ वर्षीया अनिषाले नागरिकता बनाउन पाएका छैनन् । आफ्नो नागरिकता नबनेकै कारण दुई वर्षीया नातिनी बिसु सदा र एक वर्षीय नाति सुभाष सदाको जन्मदर्तासमेत नबनेको जिवछको दुःखेसो छ ।

नेपाली भएको प्रमुख पहिचाननै नागरिकता नपाएका ती परिवारका सदस्य अहिलेसम्म राज्यबाट पाउनुपर्ने सबै सेवा सुविधाबाट वञ्चित भएको दुःखसो पोखेका छन् । जन्मेपछि कानुनी रुपमा राज्यको नागरिकको फेहरिस्तमा नाम जोडिनुपर्छ तर बुबा बिलट सदाको नागरिकता नहँुदा अहिले उहाँको पूरै परिवार नै पहिचानको सङ्कटमा परेका छन् । “बुबाको नागरिकता नहुँदा मेरो जन्मदत्र्ता बन्न सकेन्”, जिवछले भन्नुभयो, ‘‘अहिले मेरो नागरिकता नहँुदा श्रीमती र छोराछोरी नाति नातिनीसम्मको पहिचान बन्न नसकेको हो ।”

जन्मदत्र्ता नबन्दा छोराछोरी पनि विद्यालयमा पढ्न पाएनन्, अहिले नाति नातिनीको अवस्था पनि यस्तै बनेको उहाँको कथन छ । आर्थिक विपन्नताका कारण केही समय रोजगारीका लागि भारतको पञ्जाबमा काम गरेर फर्केका सदा अब बूढेसकाल लागेकाले स्वदेशमै मेहनत गर्न चाहे पनि नेपाली भएको कुनै पहिचान नहँुदा समस्या भइरहेको उहाँको भनाइ छ । ‘‘गाउँमा नागरिकता टोली आएको बेला कमाउन पञ्जावमा थिएँ”, उहाँले भन्नुभयो, “त्यति बेला छरछिमेकको नागरिकता भयो, हामी छुटिहाल्यौं ।” त्यसयता तत्कालीन गाविस कार्यालयदेखि अहिलेको स्थानीय तहको वडा कार्यालयसम्म नागरिकताको सिफारिसका लागि धाउँदै आए तर सकिएन् ।”

नागरिकताको सिफारिसको लागि जन्मदर्ता खोज्छन्, तर आफ्नो जन्मदत्र्ता छैन् भन्दै उहाँले नेपालमा जन्मिए, तर नेपाली भएको कुनै प्रमाण नहुँदा आफ्नो जीवन नै व्यर्थ भएको महसुस भइरहेको बताउनुभयो । श्रीमान्को नागरिकता नबन्दै ससुरा बिलट र सासू सुनरबतीको मृत्यु भएपछि आफूहरु झन समस्यामा फसेको जिवछ सदाकी श्रीमती अमिरकाको कथन छ । ‘‘नागरिकता नहँुदा राज्यको मात्रै होइन समाज तथा समुदायबाट पनि अलग हुनुपरेको छ,” अमिरकादेवीले भन्नुभयो, “नागरिकताकै अभावमा गाउँस्तरमा बन्ने कुनै पनि समूहमा सदस्यता पाउनसमेत सकिरहेकी छैन् ।” नागरिकता नहँुदा सामाजिक सुरक्षाभत्ताबाटसमेत वञ्चित रहेको उहाँको भनाइ छ ।

यस्तै देवनारायण सदाको नागरिकता नबन्दा उहाँको १० जनाको परिवार पनि पहिचानको सङ्कटमा परेका छन् । नागरिकताका लागि ठूलै कसरत गरेपनि अझै सफलता नमिल्दा आफूसँगै आफ्नी ५० वर्षीया श्रीमती सुशीला, ३५ वर्षीय जेठो छोरा प्रभु सदा, २८ वर्षीया जेठी बुहारी ज्योति, कान्छो छोरा खजन सदा र २० वर्षीया कान्छी बुहारी सम्झनादेवीको पनि नागरिकता बन्न नसकेको देवनारायणको भनाइ छ ।

छोरा र बुहारीको नागरिकता नबनेकाले सात वर्षीय नाति देव, तीन वर्षीय प्रेम र ६ महिनाका कृष्णाको जन्मदत्र्ता नबेको उहाँको भनाइ छ । ‘‘जहाँ गइयो, जे कामका लागि गइयो त्यहाँ पहिला नागरिकता नै माग्छन्”, देवनारायणले भन्नुभयो, ‘‘तर सानैमा बुबाको मृत्यु भएकाले अहिलेसम्म नागरिकता बन्न सकेन् ।”

नागरिकताका लागि पञ्चायतकालदेखि अहिलेसम्म सबै निकायमा धाएँ तर नागरिकता बन्नै सकेन्, उहाँको दुःखेसो छ । बगबिराका जिवछ र देवनारायण मात्र होइन्, बोदे बसाईन नगरपालिकाको विभिन्न वडाका दलित बस्तीमा नागरिकताको समस्या अझै भयाबह रहेको एक तथ्याङ्कलेसमेत देखाएको छ । वडामा जन्मदत्र्ता, विवाह दत्र्ता र नागरिकताको ठूलो समस्या पाइएपछि व्यक्तिगत घटना दत्र्तासँगै नागरिकता र जन्मदत्र्ता बनाउने अभियान सुरु गर्न लागिएको छ ।

द फ्रिड्म फण्डको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्र सप्तरीले ती वडाका दलित बस्तीका हरवाचरवा परिवारलाई लक्षित व्यक्तिगत घटना दत्र्तासँगै नागरिकता र जन्मदत्र्ता बनाउने अभियान सञ्चालन गर्न लागिएको छ । दलित बस्तीमा नागरिकता र जन्मदत्र्ताको समस्या देखिएपनि अभियान नै चलाउन लागेको श्रीपुर्राज सामुदायिक विकास केन्द्रका कार्यक्रम संयोजक शारदा चौधरीले बताउनुभयो ।

अधिकांश दलित बालबालिका जन्मदर्ताकै कारण पढ्न नसकेको पाइएको कार्यक्रम संयोजक चौधरीको भनाइ छ ।
जनचेतनाको आभावमा नागरिकता र जन्मदत्र्ताको महत्व नबुझेर पूर्वजहरुले समयमै जन्मदत्र्ता, विवाह दर्ता, मृत्युदर्ता बनाउन होस नपु¥याउँदा अहिलेको सन्ततिले दुःख पाइरहेको बोदे बसाईन नगरपालिका– ७ का वडाध्यक्ष बिजली कापैरको भनाइ छ ।

प्रमाण जुटाउन नसक्दा जन्मदर्ता र नागरिकताको सिफारिस गर्न कठिनाइ भइरहेको सुनाउँदै वडाध्यक्ष कापैरले ती परिवारको नागरिकता समस्या समाधानका लागि आवश्यक पहल भइरहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय