आँखीझ्याल पर्वत : स्थानीय तहको निर्वाचनका लागि पर्वतको फलेवास नगरपालिकाबाट नेपाली काँग्रेसको तर्फबाट मेयरमा तीन जना र उपमेयरमा तीन जनाको नाम सिफारिस भएको छ । नेपाली काँग्रेस फलेवास नगरसमितिमा सर्वसहमतीको प्रयास भएपनि टुंगो नलागेपछि मतदान मार्फत मेयरका उम्मेदवार र सर्वसहमतीमा उपमेयरका उम्मेदवार सिफारिस भएका हुन् ।

मेयरमा गंगाधर तिवारी, रेखा गुरुङ र मिलन सुबेदीको नाम सिफारिस भएको छ । उपमेयरमा जीतवहादुर सुनार, जीवन भुसाल क्षेत्री र सनम बेगमको नाम सिफारिस भएको हो । मतदानमा ६१ जना सहभागी भएकोमा मेयरका आकांक्षी गंगाधर तिवारीले ५८, रेखा गुरुङले २६ र मिलन सुबेदीले २२ मत पाउनुभएको थियो । मेयरका लागि १३ जनाको आकांक्षा रहेकोमा सहमतीमा शिवप्रसाद सुबेदी र याम परियार शिवले उम्मेदवारी फिर्ता लिएपछि ११ जना बिच प्रतिसपर्धा भएको हो । उपमेयरका उम्मेदवार भने सर्वसहमतीमा टुंगिएको हो । नगर सभापति हिरामणी सापकोटाले नगर समितिले मतदान बाट छानिएका उम्मेदवारहरुको नामावली प्रदेश कार्यसमितिमा पठाईने बताउनुभयो । उहाँले फलेवास नगरपालिकामा विजय हासिल हुने गरि काँग्रेसको संगठन परिचालन हुने बताउनुभयो । आफु उम्मेदवार भए जित्ने र आफु उम्मेदवार नभए जिताउने मनस्थितीमा कार्यकर्ताहरु चुनावी तयारीमा रहेको सापकोटाले जानकारी दिनुभयो । अघिल्लो स्थानीय तहको निर्वाचनमा भोगेको पराजयले काँग्रेसी कार्यकर्ताहरु अहिले सजग भएको बताउँदै सापकोटाले सबै ११ वडामा जित्ने गरि चुनावी अभियानमा लागिने दाबी गर्नुभएको छ ।

फलेवास नगरपालिकामा नेपाली काँग्रेसले अहिले सम्म वडा नम्बर ३ शंकरपोखरीको वडाध्यक्षका उम्मेवार र फलेवास ५ मा वडाध्यक्ष र सदस्यहरुको नामावली टुंगाएको जनाएको छ । यस्तै फलेवास नगरपालिका वडा नम्बर १ कार्किनेटा, वडानम्बर २ थापाठाना, वडा नम्बर ९ भंगारा, वडा नम्बर १० कुर्घामा पनि वडाध्यक्षको उम्मेदवार टुंगो लागेको छ । यद्यपी गठबन्धनको भागवण्डामा कुन कुन वडा पर्छन भन्ने कुरा भने निर्णय हुन बाँकी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय