सुनिल उलक , काठमाडौं  : घोडे जात्रा वास्तवमा कुनै जात्रा वा पर्व नै होइन । यो त केवल तमासा मात्र हो । पिशाच चतुर्दशीको दिन उपत्यकाका खासगरि काठमाडौका नेवा:हरु पाहाचह्रे मनाउने गर्दछन् । वास्तवमा पाहाचह्रे गाईपालनमा निर्भर गोपालवंशीहरुले गाईको लागि घाँस उत्पादन गरिदिने कुनै देवताको रुपमा जमिन खनेर भित्र भेटिने ढुङ्गालाई पूजा गर्दथे । यहि नै पछि लिच्छवी कालमा पशुपति भयो भने मल्लकालमा लुकुमहाद्य पनि बन्यो ।
तर घोडे जात्रा भने मल्लकालमा पाहाचह्रेको भोलि पल्ट राजाहरु आफ्ना भाइभारदारका साथ लश्करै मन्दिर दर्शन गर्न जाने गर्दथे । यो लश्कर तथा राजा पनि देख्न पाउने भए पछि उपत्यकावासी तमासा हेर्न टुडिखेल पुग्दथेे । शाहकालको शुरुमा पनि यहि क्रम रहिरह्यो । तर राणाकालमा आइपुग्दा भने राणाहरुले ट्डिखेलमा आफ्ना सैनिक शक्तिको प्रदर्शन गर्दै घोडे जात्रालाई बिशाल रुप दिए ।
हुन त उपत्यकावासीहरुले घोडेजात्रासंग गाँसेर एउटा किंवदन्ती पनि सुनाउने गर्दछ । जुन अत्यधिक प्रचलित पनि छ ।
इतुंबहामा बस्ने केशवचन्द्र जुवाको लतले सम्पति सिध्याएर बेहाल भएका थिए । एकदिन आफ्नो दिदीकहाँ खाना खान पुगेका उनले खाना पस्केको सुनको थाल नै चोरेर जुवामा हार्छ । अर्को पटक फेरी दिदीकहाँ पुगेका उनलाई दिदीले चाँदीको थालमा पस्केर दिए त्यो थाल पनि चोरेर जुवामा हार्छ । तेश्रो पटक दिदीकोमा पुगेका उनलाई भने दिदीले थालमा खाना नदिएर भुइमा राखिदिन्छ । भोक र रिसले बौलाएका उनले खाना कपडामा पोको पारेर हिड्छ । थाकेर रुख मुनि निदाएका बेला उनले कपडामा पोका पारेर ल्याएको खाना सबै रुखमा बस्ने चराहरुले खाएर सिध्याइदिन्छ ।
केशवचन्द्रको खाना खाएका चराहरु सबै रुखमा नै बसेका थिए । केशवचन्द्र ब्युझदा खाना सबै खाइसकेको देखे । रिसले बौलाएका उनले चरालाई हान्न के थालेका थिए चराले सुनको बिष्टा गरिदिए । यस पछि खुशी भएका केशवचन्द्रले सबै सुनका बिष्टा जम्मा गरेर कपडामा पोका पारेर बोक्न खोज्दा उठाउन नै सकेनन् । त्यहि समय गुरुमापा नाम गरेको राक्षस घुम्दै घुम्दै खानाको खोजीमा त्यहि आइपुग्छ । गुरुमापाले केशवचन्द्रलाई खान खोज्छ । बाठो केशवचन्द्रले गुरुमापालाई आफूले जम्मा गरेको सुनको पोका बोकेर घर जान आग्रह गर्दै घर पुगेपछि सिङ्गै राँगो र तीन मुरी चामलको भात खान दिने बाचा गर्दछ । यसरी घर लगिएका गुरुमापालाई केशवचन्द्रले बचन अनुसारको खाना दिन्छ । टन्न खाना खाएपछि गुरुमापा निदाउन थाल्छ । तीनदिन पछि ब्युझिए पछि फेरी खाना माग्न थाल्यो । यसरी लुकाएर राक्षसलाई खाना खुवाएको छिमेकीले थाहा पाए पछि केशवचन्द्रले राक्षसलाई टुँडिखेलमा रहेको रुखमा लुकेर बस्न र त्यहि खाना ल्याइदिने बचन दिए । तर यसरी टुडिखेल बसेका गुरुमापा कहिले काँही शहर पसेर बच्चा चोरेर खान थाल्यो । जसले गर्दा मानिसहरु सबै मिलेर उनलाई पिटेर टुडिखेलमा लडाएर उनको शरिर माथि घोडा दौडाएर घायल बनाइ त्यहि गाडिदिए । गुरुमापा उठेर शहर पसेर बच्चाहरु नखाओस भनेर वर्षेनी टुडिखेलमा गुरुमापाको शरिर माथि घोडा दौडाउन थालियो । साथै गुरुमापालाई केशवचन्द्रले एउटा राँगोको मासु र तीन मुरी चामलको भात खुवाउने बाचा गरेको हुँदा फागु पूर्णिमाको दिन भात पकाएर लाने चलन रह्यो ।
फागुन पूर्णिमाको अघिल्लो दिन किला घ:का ज्पापू समाजले यँपी ख्य:(भुरुङखेल)मा राँगो काटेर गुरुमापालाई चढाउने र भोलिपल्ट इतुंबहा:को केशवचन्द्र विहार नजिकैको भुतु क्यव:मा २० पाथी चामलको भात पकाइ टुडिखेलमा लगेर टुडिखेलको बिचमा गुरुमापाको भाग चढाइ समाजका सबै लहरै बसेर टुडिखेलमा भोज खाने चलन छ । यसरी घोडे जात्रा शुरु भएको भन्ने किंवदन्ती पनि उपत्यकामा प्रचलित छ ।
आखिर जे जसरी भए पनि घोडे जात्राले भने आजसम्म निरन्तरता पाएको छ । यहाँ तस्विरहरुमा २०२५ सालको घोडे जात्राका दृश्यहरु देख्न सकिन्छ । सबै तस्विर विश्वविख्यात मानवशास्त्री योहन रेयनहर्डले खिचेका हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय