काठमाडौं : गत बैशाखमा प्रदर्शन भएको फिल्म ‘जारी’पछि सुस्ताएको नेपाली फिल्मको बजारलाई केही हदसम्म फिल्म ‘बगान’ले चलायमान बनाएको छ । बक्स अफिसमा हलिउडका ठूला दुई फिल्म ‘बार्बी’ र ‘ओपेनहाइमर’को चुनौतीका बावजूद फिल्मले दुई हप्तामा एक करोड हराहारीमा व्यापार गरेको छ । चलचित्र विकास बोर्डको सिस्टममा मात्र फिल्मको ग्रस कलेक्सन ८३ लाख रुपैयाँ देखिन्छ ।

बोर्डको सिस्टममा ५४ वटा हलको डाटा मात्र आएको छ । बक्सअफिस जडान नभएका हल र रिपोर्ट पठाउन बाँकी हलसहितको जोड्दा फिल्मले दुई हप्तामा एक करोडको आँकडा छोएको हुनसक्ने देखिन्छ । लगानीको हिसाबले फिल्मको यो कमाई सुखद हो । सुखद प्रतिक्रियाले पहिलो हप्ताको अन्त्यबाट फिल्मको व्यापार बढेको हो । शुक्रबारबाट फिल्म तेस्रो हप्तामा प्रवेश गरेको छ ।

फिल्म हेर्न हलमा ३५ वर्ष उमेरमाथिका दर्शक बढी देखिएका छन् । एकल महिलालाई निःशुल्क हेर्ने व्यवस्था मिलाइएको फिल्मको मध्यान्तरपछिको भाग प्राय:ले रुचाएका छन् । तीन दशकदेखि अभिनयमा सक्रिय सरोज खनालले फिल्मको निर्देशन गरेका हुन् । यो उनको डेब्यू निर्देशन हो । आमाको पुनर्विवाह गराउन छोरीले गर्ने संघर्षको कथामा आधारित भएर ‘बगान’ निर्माण भएको छ ।

अब अमेरिका र भारतमा फिल्मलाई प्रदर्शन गर्ने तयारी गरिएको छ । ‘बगान’मा निर्देशक खनालसँगै करिश्मा मानन्धर, नीर शाह, बसुन्धरा भुषाल, मिथिला शर्मा, आकाश श्रेष्ठ, प्रमिला कार्कीलगायतको अभिनय रहेको छ । प्रमिलाले यही फिल्मबाट डेब्यू गरेकी हुन् । फिल्ममा उनको अभिनय प्रशंसनीय छ । सुरेश वाग्ले निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा विनोद मानन्धर छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय