काठमाडौं : बडा दशैंको अवसर पारेर आगामी फूलपाती अर्थात् कात्तिक ४ गतेबाट प्रदर्शनमा आउन लागेको दीपेन्द्र के. खनालद्वारा निर्देशित फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’को दोस्रो गीत युट्युबमा सार्वजनिक गरिएको छ । ‘प्रेम शरणम्’ बोलको रोमान्टिक गीतमा कालीप्रसाद बाँस्कोटा र स्वस्तिका ढकालको स्वर छ भने सुशील पौडेल र कृष्ण भारद्वाजको शब्द तथा कृष्ण स्वयंको संगीत छ ।

पशुपति क्षेत्रमा छायांकन गरिएको गीतमा अभिनेता विपिन कार्की उर्फ भष्मे डन र अभिनेत्री स्वस्तिमा खड्का प्रस्तुत छन् । गीतले उनीहरुको प्रेमभाव बोल्छ । प्रविन सिंहको कोरियोग्राफी रहेको गीतमा भष्मे डन स्वस्तिमाको कल्पनामा डुबेको देखाइएको छ । अघिल्लो श्रृंखलामा भष्मे डनको लभ एङ्गल प्रस्तुत गरिएको थियो । यसपटक स्वस्तिमासँग जोडी बाँधिएको संकेत यो गीतले गर्छ ।

खगेन्द्र लामिछानेको लेखन तथा निर्माण रहेको फिल्ममा विपिन र स्वस्तिमासँगै सौगात मल्ल, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहाल, संजोग रसाइलीलगायतको अभिनय छ । खगेन्द्र लामिछाने र वर्षा सिवाकोटीको विशेष भूमिका रहेको फिल्मको एक गीतमा अभिनेत्री आँचल शर्माले नृत्य गरेकी छन् ।

फिल्ममा निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, किरण भुषाल, कृष्ण भारद्वाज तथा सुभाष भुषालको संगीत छ । पशुपति प्रसाद चरित्रको मृत्युपछि पशुपति क्षेत्रमा अस्तित्व स्थापित गर्न संघर्षरत भष्मे डनको जीवनमा एउटा पात्रको प्रवेशपश्चात् सुरु भएको परिचय र आत्मसम्मानको लागि गर्ने शक्ति संघर्षको कथामा फिल्म केन्द्रित रहेको जनाइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय