नवराज पराजुली – हामी
उस्तै नै त छौं तिमी र म
मेरा दुःखहरूले दाँत नमाझेको वर्षौ भयो
तिम्रा दुःखहरूले कपाल नकोरेको वर्षौ भयो ।
तिमीबाहेक को होला र अर्को
जसलाई गिजा नदुखाई मेरा दाँत माझिदिन आउँछ ?
मबाहेक को होला र अर्को
जसलाई कपाल नदुखाई तिम्रो लट्टा फुटाउन आउँछ ?
तिमी एक्लै दुःखी छौ, म एक्लै दुःखी छु
तर सँगै रहँदा
दुई दुःखीहरू जति खुसी अरू को नैं हुन्छन् होला र !
हामी
नटुक्रिएको सिङ्गो हाडे ओख्खर भएर
एक्लै एक्लै बाँच्नुभन्दा
फुटेर आधाआधा भएको
नरम दाँते ओख्खर भएर सँगै बाँचे हुन्न ?
नत्र भोलि
एउटाको छातीमा गाला टाँसी निदाउँदा
अरू कसैको धड्कन सुन्न कसरी सकूँला म ?
नत्र भोलि
एउटाको अनुहारसँग निदाएर
सपनामा अरू कसैको अनुहार देख्न कसरी सकौली तिमी ?
हामी जोसँग रून सक्दैनौं, कसरी उसको हुन सक्छौं ?
सगरमाथाको गहिराइ