आँखीझ्याल: बच्चा जन्माउने योजना यदि तपाईं बच्चा जन्माउने योजनामा हुनुहुन्छ भने निम्न कुराहरूमा ध्यान दिनुहोस् सही उमेर बच्चा जन्माउने महिलाको उमेर १८ देखि ३८ वर्षको बीचमा हुनुपर्दछ । त्यसभन्दा अगाडि या पछाडि बच्चा जन्माउनु आमा तथा बच्चा दुवैको लागि प्रसवसँग जोडिएको खतरा उत्पन्न हुन सक्छ । तर बच्चा जन्माउने सबैभन्दा सही उमेर भनेको २३ देखि २७ वर्ष हो । सावधानी अपनाउँदा अपनाउँदै पनि तपाई १८ वर्षभन्दा कम र ३८ वर्षभन्दा बढी उमेरको हुँदा गर्भवती हुनुभयो भने तपाईले विशेष ध्यान राख्नुपर्छ । जसका लागि तपाईले डाक्टरको सल्लाह लिइरहनुपर्ने हुन्छ । दुई बच्चामा अन्तर बच्चा जन्माउनको लागि अर्को बच्चा कम्तीमा २ वर्ष पुगिसकेको हुनुपर्छ । गर्भावस्था र प्रसवपछि पूरै स्वस्थ हुनको लागि महिललाई दुई वर्षको समय लाग्छ । पहिलो बच्चा दुई वर्ष नपुग्दै अर्को बच्चा जन्मिएमा आमा तथा बच्चा दुवैको लागि हानिकारक हुन्छ । यस्तो अवस्थामा बच्चाको राम्रोसँग शारीरिक तथा मानसिक विकास हुन पाउँदैन ।  अमेरिकाको सेन्टर फर डिजीज कन्ट्रोल’ (सी.डी.सी.) को एउटा अध्ययनबाट पत्ता लागेअनुसार १० वर्षको अन्तरमा जन्मने बच्चाको असामान्य सानो आकार हुने तथा समयभन्दा पहिल्यै जन्मने सम्भावना ५० प्रतिशत बढी हुन्छ । यदि तपाईंको पहिल्यै जुम्ल्याहा बच्चा जन्मिएका छन् भने अर्को पटक पनि अन्य महिलाको तुलनामा जुम्ल्याहा जन्मने सम्भावना धेरै हुन्छ | गर्भावस्थामा विशेष खानेकुरा गर्भ रहनुभन्दा करिब ६ हप्ता पहिलादेखि पात भएका सागसब्जि खानु राम्रो हुन्छ हिजोआज फोलिक एसिड नामक एउटा भिटामिन पाइन्छ । यसको सेवन पनि सागसब्जि शुरू गरेकै समयदेखि गर्न सकिन्छ ।
यस भिटामिनको कारण बच्चालाई स्पाइना बिफिडा (रीढको हड्डीसँग जोडिएको एउटा रोग लाग्ने सम्भावना अत्यन्तै न्यून हुन्छ ।
गर्भावस्थाको क्रममा निम्न अनुशासनमा रहेर भोजन गर्नुपर्दछ
१. चोकरसहित आँटाको रोटी, ब्राउन राइस (पोलिस नगरेको खैरो चामल) तथा बोक्रासहित दालको प्रयोग गर्नुहोस्
२. चिनी तथा नुनको कम प्रयोग गर्नुहोस् । चिनीको सट्टामा भेली (शख्खर), मह, किशमिश, अंजीर, छोकडा, आदिको प्रयोग गर्न सकिन्छ । ३. डिब्बाबन्द वस्तु, मिठाई, भुटेका तथा तारेका खानेकुरा, मैदा, आदि गरिष्ठ भोजन नखानुहोस् ।
४. कोक, चिया, कफि, आदिको सट्टा हर्बल चिया, कागती तथा महको रस. जुस, आदि सेवन गर्नुहोस् । नरिवल पानी पिउनु पनि निकै राम्रो हुन्छ । यसबाट बच्चा सुन्दर हुने बताइन्छ ।
५. अंकुरित मुंग, चना, बदाम, सूर्यमुखीको बीउ, नरिवल, ओखर, तिल, दूध, दही, पनीर, आदि खानुहोस् ।
६. भोजनमा दैनिक सुन्तला, मौसमी, अनार, भुईकटहर, स्याउ, नासपाती,खरबुजा, मेवा, आँप, अम्बा, लिची, आदि मध्ये मौसमअनुसारका फल सामेलगर्नुहोस् ।
७. ताजा सब्जिहरू (टमाटर, मूला, गाजर, बन्दा, शलगम, परवल, काउली, पालक, मेथी, भट्टमास, बेथे, आदि) खाने गर्नुहोस् ।
८. धेरैजस्तो महिलालाई गर्भावस्थामा आवश्यकताभन्दा बढी अनावश्यक खानेकुरा खुवाउने गरेको पाइन्छ । जुन कैयौं रोगको कारण बन्न सक्छ ।
९. नियमित पालक सेवन गर्नाले अपच, उल्टी, गर्भपात, आदि समस्या हुँदैन । त्यस्तै गर्भमा बच्चाको विकास सही तरिकाबाट हुन्छ । अंकुरित गहुँ किशमिशको साथमा खाँदा पनि लाभ हुन्छ ।
१०. जुन गर्भवती महिलाको परिवारमा एलर्जीको समस्या हुन्छ, उनीहरूले बदाम र यसबाट बनेका खाद्य सामग्रीको सेवनबाट बच्नुपर्छ ।
११. कफी सेवन गर्नुहुन्छ भने त्यसलाई पनि कम गर्नुपर्छ । यसको धेरै सेवन गरेमा समयभन्दा पहिल्यै बच्चा जन्मन सक्छ । त्यस्तै यसले बच्चाको वजनलाई पनि प्रभावित गर्छ ।
गर्भावस्थामा ध्यान दिनुपर्ने कुराहरू
१. घाम, हावा, माटो तथा पानीसँग सम्पर्कमा नियमित आइरहनुहोस् । सँधै चिन्ता मुक्त, तनावरहित तथा खुशी रहनुहोस् ।
२. सुतीको खुकुलो कपडा लगाउने गर्नुहोस् ।
३. कुनै पनि नशाको सेवन नगर्नुहोस् ।
४. हल्का शारीरिक व्यायाम तथा बिहानको खुल्ला भ्रमण गर्नुहोस् । खुल्ला स्थानमा गहिरो श्वास लिने गर्दा निकै फाइदा पुग्छ । प्राणायाम पनि गर्न सकिन्छ
५. प्राकृतिक आवेग ( मल, मूत्र, भोक, प्यास, निन्द्रा, आदि) लाई नदबाउनुहोस् ।
६. गर्भावस्थामा भयमा रहनु पनि हानिकारक हुन्छ ।
७. ईर्ष्या, द्वेष तथा बदलाको भावनाबाट टाढै रहनुहोस् ।
८. सकारात्मक, सात्विक र रचनात्मक बिचार गर्नुहोस् ।
९. शरीर सफा राख्नुहोस् ।
१ १. गर्भावस्थामा राम्रा पुस्तक छानेर अध्ययन गर्नु फाइदाजनक हुन्छ सकारात्मक सन्देश दिने खालका पुस्तक छान्नुपर्छ ।
१२. अग्लो हिल भएको चप्पल वा जुत्ता नलगाउनुहोस् । यसले गर्दा छिट्टै थकाई लाग्छ ।
१३. छाला तथा पेटमा तेल लगाउनु पनि राम्रो हुन्छ ।
१४. सँधै कोल्टे परेर तथा घुँडालाई थोरै मोडेर सुत्नुहोस् ।
१५. दिउँसो धेरै सुत्ने र राती अबेलासम्म बस्ने नगर्नुहोस् ।
प्राकृतिक आहार
यदि तपाईं गर्भावस्थामा शाकाहारी आहार मात्रै गर्न चाहनुहुन्छ भने अण्डा तथा गाई-भैंसीको दुध सेवन गर्नुपर्छ। तर यदि तपाई दुध पनि सेवन गर्नुहुन्न भने तपाईलाई भिटामिन ए, भिटामिन बी१२ र मिटामिन डी कम उपलब्ध हुन्छ । जसमध्ये भिटामिन ए र ‘डी’ अन्य खानेकुराबाट पनि प्राप्त गर्न सकिन्छ । तर भिटामिन बी१२ तपाईले अतिरिक्त खुराकको रूपमा सेवन गर्नुपर्छ । यस भिटामिनको कमीले एनीमिया लाग्न सक्छ । साथै मस्तिष्क र नशामा पनि क्षति पुग्न सक्छ । केही सब्जिबाट यसको थोरै मात्रा प्राप्त गर्न सकिन्छ । त्यस्तै स्पिरुलिना मा पनि मिटामिन १२ पाइने बताइन्छ । क्याल्सियम प्रशस्त पाइने खाद्य-पदार्थहरू पात भएका सब्जि कढीपत्ता, शलगमको पात, मूला, मेथी, पुदिना, आदि । गेडागुडी राजमा, चना, भट्टमास, आदि । पशुबाट प्राप्त- माछा, सबै खालका दही, गाई-भैंसीको दुध, आदि । कस्तो बेलामा अस्पताल जाने ? सामान्यतया अन्य अवस्थामा पनि अस्पताल जान सकिन्छ। तर यी विशेष अवस्थामा भने अनिवार्य रूपमा अस्पतालमै जानुपर्छ ।
 १) यदि तपाईंको उमेर १७ बर्ष भन्दा तल वा ३५ बर्ष भन्दा माथि छ भने ।
२) पछिल्लो बच्चा जन्मेको समय र अहिले बच्चा जन्मने समय बीचको अन्तर २ बर्षभन्दा कम छ भने ।
३) यदि गर्भधारण गर्नुभन्दा पहिला तपाईंको वजन ४० किलोभन्दा कम या ६०किलोभन्दा बढी थियो भने ।
४) यदि तपाईंको उचाइ १४५ सेमी भन्दा कम छ भने ।
५) ४ वा सो भन्दा बढी बच्चा जन्मिसकेका छन् भने ।
६) यदि पहिलाको बच्चा जन्माउँदा बच्चाको तौल २ किग्रा भन्दा कम थियोभने ।
७) यदि कुनै बच्चा समय नपुग्दै जन्मिएको थियो भने ।
८) यदि पहिला बच्चा जन्माउँदा कुनै कठिनाई उत्पन्न भएको थियो भने ।
९) गर्भावस्थाको कममा तपाईंको वजन कम्तीमा पनि ६ किग्रा बढेको छैन भने ।
१०) यदि तपाईलाई चीनीरोग (सुगर), रगतको कमी, उच्च रक्तचाप आदीको समस्या छ भने ।
११) हात-खुट्टा सुन्निने समस्या छ भने ।
१२) गर्भावस्थाको क्रममा योनीमा रक्तस्रावको समस्या देखियो भने ।
१४) उल्टी हुने, लगातार ज्वरो आउने तथा टाउको दुख्ने समस्या छ भने ।
१५) यदि जुम्ल्याहा बच्चा जन्मिदै छ भने । यस्तो अवस्थामा आमा र बच्चाको सुरक्षाको लागि तपाईले अस्पतालमै बच्चा जन्माउनु राम्रो हुन्छ ।
प्रत्येक बर्ष विश्वमा ५ लाख ३६ हजार महिलाको मृत्यु प्रसव वेदनाका कारण हुन्छ । यसरी मृत्यु हुने महिलाहरू मध्ये ९९ प्रतिशत महिला विकासशील राष्ट्रका हुन्छन् । आयरल्याण्डमा १ लाख शिशु जन्माउने कममा १ जना आमाको मृत्यु हुन्छ । क्यानडामा १ लाख शिशु जन्माउने क्रममा ७ जना आमाको मृत्यु हुन्छ । अमेरिकामा १ लाख शिशु जन्माउने क्रममा ११जना आमाको मृत्यु हुन्छ । सियरा लियोनमा १ लाख शिशु जन्माउने क्रममा २ हजार आमाको मृत्यु हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय