काठमाडौं :  शुक्रबार दिउँसो काठमाडौं महानगरपालिकाको गैरीगाउँ क्षेत्र तनावग्रस्त बन्यो । काठमाडौं महानगरपालिकाले अव्यवस्थित बस्ती हटाउन ७ वटा डोजर लिएर आउँदै गरेको थाहा पाएका स्थानीय बासिन्दा सडकमा टायर र काँडेतार राखेर बसे । तीनकुनेबाट गैरीगाउँतर्फको बागमती करिडोरमा टायर र काँडेतार राखेका सुकुम्वासी बस्तीका बासिन्दाले पछि टायर बालेर प्रदर्शन गरे ।

महानगरपालिकाको डोजर पुग्नुअघि नेपाल प्रहरी र सशस्त्र प्रहरी बल बस्ती छेउछाउमा देखेपछि सशंकित बनेका बस्तीका बासिन्दाले प्रहरी उपस्थिति बढ्दै गएपछि टायर बालेर प्रदर्शन गरेका हुन् । ‘सुकुम्वासीलाई मार्न पाइँदैन’, ‘बालेन हाम्रो भोट फिर्ता ले’, ‘मेयर राजीनामा दे’ जस्ता नारा लगाएका सुकुम्वासी बस्तीका अगुवालाई प्रहरीले सम्झाएपछि नारा लगाउन छाडेका थिए । तर साँझसम्म उनीहरूले सडक छाडेनन् ।

महानगरपालिकाको नगर प्रहरी टोली डोजरसहित मीनभवनस्थित यातायात कार्यालय परिसरमा तयारी अवस्थामा बसेको थियो । उनीहरू बस्तीमा डोजर चलाउने उपयुक्त मौकाको पर्खाइमा थिए ।

सुकुम्वासीका बस्तीका बासिन्दा महानगरपालिकाको टोली डोजर लिएर आए प्रतिकार गर्ने तयारीमा थिए । ‘२९ वर्ष भएछ हामी यहाँ बसेको, बाउआमाको किरिया पनि यहीं गरेको हो । अब यत्रो समय बसेको मान्छेलाई अहिले गइहाल् भनेर कसरी जानु’ २०५० सालमा सिन्धुलीबाट गैरीगाउँमा आएर बसेका रेशमसिं तामाङ भन्छन् । उनले सुरुमै बस्न नदिएको भए अर्कै व्यवस्था हुने भन्दै अहिले लखेट्न नमिल्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय