पर्वत: पोखरा-बागलुङ सडक मार्गमा पर्ने पर्वतको मोदी गाउँपालिका-६ स्थित बेतेनीमा आइतबार दिउँसो तीन वटा गाडीहरू एकापसमा ठोक्किंदा चार जना घाइते भएका छन् ।
घाइतेलाई उपचारका लागि पोखरा लगिएको प्रहरीले जनाएको छ । बागलुङबाट पोखरा जाँदैगरेको ग १ ज ७४६९ नम्बरको जिपले सोही दिशातर्फ जाँदैगरेको वा.२१ च. ३८४ नम्बरको कारलाई ओभरटेक गरी जाँदैगर्दा विपरीत दिशामा जाँदै गरेको ट्याक्सीसँग ठोक्किन पुग्दा तीन वटै गाडी आपसमा ठोक्किएका थिए ।
गाडी ठोक्किंदा घाइते हुनेहरू चार जना ध १ ज १०८७ नम्बरमा सवार यात्रुहरू रहेको प्रहरी चौकी डिमुवामा कार्यरत प्रहरी नायब निरीक्षक तोरणध्वज पौडेलले बताउनुभयो । तीन वटै गाडीमा भौतिक क्षति भएको छ ।
प्रहरीका अनुसार घाइतेमध्ये एक जनाको टाउकोमा चोट लागेको छ भने बाँकी यात्रुको गोडामा चोट लागेको छ । घाइतेको पहिचान खुल्न सकेको छैन। तीनवटा गाडीका चालकलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख
खुमलाल भुसालले बताउनुभयो ।
गाडीहरू एकापसमा ठोक्किंदा केही समय सडक नै अवरुद्ध हुन पुगेको बागलुङबाट पोखरा जाँदै गरेका यात्रु रमेश पौडेलले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय