आँखीझ्याल खबर ,पर्वत, कात्तिक १५ गते : पर्वतको बिहादी गाउँपालिकामा आफूले लगाएको अन्नबाली बाँदरले खाने र नष्ट पार्ने भएपछि हैरान भई एक कृषकले सयपत्री फूलको व्यावसायिक खेती गर्न थालेका छन् । बिहादी गाउँपालिकाको वडा नं ६ मा पर्ने शालिग्राम निवासी ५३ वर्षीय कृषक मेघनाथ भट्टराईले गरेको खेती पालिकामा नै पहिलो पटक गरिएको फूलको व्यावसायिक खेती बनेको छ ।

कृषक भट्टराईले आफ्नो तीन हलको मेलो हुने बारीमा लगाएको फूल अहिले ढकमक्क फुलेको छ । बिहादीमा यसअघि मकै, भटमास, उवा, कोदो, बोडीलगायत अन्नबाली लगाउने बारीमा फूलको खेती गरिएको हो । सयपत्री फूलको खेतीका लागि बिउ खरिद, माटो गोडमेल, मलजल, फूलको बोटको टुप्पा काट्ने कार्यलगायत सबै गरी ६० हजार खर्च गरेको बताइएको छ ।

पहिलो पटक फूलको व्यावसायिक खेती गर्नुभएका उहाँले भन्नुभयो, “मकै, कोदो, मासको खेती गर्दा बाँदरले खाएर नष्ट गरेपछि फूलको खेती सुरु गरेको हो । गाउँमा अन्नबाली लगाउन छाडेर फूलको खेती गरेको भनी सबैले खिसी गरेका   थिए । अहिले फूल देख्दा सबै दङ्ग परेका छन् ।”

बाँदरले नखाने भनी फूलको व्यावसायिक खेती गरेको भए पनि बाँदरले फूल भाँचेर दुःख दिने गरेपछि हेरालो बारम्बार बस्नु परेको कृषक भट्टराईको दुःखेसो छ । आफूले सयपत्री फूल तिहारको समयमा बिक्री गरी पाँच लाख रुपियाँ कमाइ गर्ने लक्ष्य लिएको उहाँले बताउनुभयो । बजारको माग अनुसार नै मूल्य कायम गरी स्थानीय गाउँघर साथै बुटवल र पोखरासम्म लगेर फूल बिक्री गर्ने कृषकको सोच छ । वडा अध्यक्षसँग समेत फूलको बिक्री गर्न बजारका लागि सल्लाह लिएको कृषक भट्टराईले बताउनुभयो ।

बुटवलदेखि ल्याएको सयपत्री फूलको बिउ जमाएर साउन महिनामा बेर्ना लगाइएको थियो । गाउँपालिका वडा नं ६ का अध्यक्ष मोहन बस्यालले पालिकामा नै पहिलो पटक गरिएको व्यावसायिक फूलको खेती निकै राम्रो रहेको बताउँदै भन्नुभयो, “पहिलो पटक व्यक्तिगत पहलमा सुरु गरिएको व्यावसायिक फूलको खेती राम्रो छ । फूल बिक्रीका लागि वडाले पनि सहजीकरण गर्ने छ । आगामी वर्षमा फूलको व्यावसायिक खेतीका लागि इच्छुक किसानलाई वडाले सघाउने छ ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय