पोखरा : पोखरा महानगरपालिका-२९ लेखनाथको घोतघोतेमा रहेको दृष्टिविहीन बसोबास गर्ने आश्रममा आगलागी भएको छ ।
दृष्टिविहीनहरुको समूह देउसीभैलो खेल्न गएका बेला बुधबार राति आगलागी भएको आश्रम सञ्चालक सुशील गोदारले जानकारी दिए । घर भाडामा लिएर अपांगता मैत्री समाजले सञ्चालन गरेको आश्रम, बिक्री गर्न राखिएका सामग्री, लत्ताकपडा र नगदसमेत जलेर नष्ट भएको छ । करिब एक लाख रुपैयाँ नगद आधा जलेको अवस्थामा फेला परेको छ ।
देशका विभिन्न ठाउँबाट दृष्टिविहीनहरु आएर आश्रममा आश्रय लिने र विभिन्न उद्यमका काम गर्ने आश्रम नै जलेपछि उनीहरुलाई ठूलो चिन्ता परेको छ ।
दृष्टिविहीन र अपांगता भएकाहरुसमेत सो आश्रममा बसेर अगरबत्ती, कपुर, पेन्सिल, डटपेन, फिनल, शौचालय सफा गर्ने सामग्री, अबिर, केसरी लगायतका सामग्री तयार गरी बजारमा लगेर बेच्ने गरेका थिए ।
बेच्नका लागि तयार पारिएको सबै सामाग्री जलेर नष्ट भएको छ ।