लण्डन, १ पुस
बुधवार बेलायतमा ७८ हजार जनाभन्दा धेरै मानिसमा कोभिड पुष्टि भएको छ । कोभिड महामारी सुरु भएयता एकैदिन पुष्टि भएका सङ्क्रमितको यो सर्वाधिक सङ्ख्या हो ।

सङ्क्रमण नियन्त्रणका लागि लकडाउन भइरहेका समय यसअघि गत जनवरीमा एकैदिनको सबैभन्दा धेरै ६८ हजार सङ्क्रमित पुष्टि भएको थियो ।

इङ्ल्यान्डका प्रमुख स्वास्थ्य अधिकारी प्राध्यापक क्रिस विटीले सङ्क्रमितको त्यस्तो उच्चसङ्ख्या आउँदा केही सातामा कम हुने बताउनुभएको बीबीसीले उल्लेख गरेको छ ।

एउटा पत्रकार सम्मेलनमा बोल्दै उहाँले सङ्क्रमण फैलिइरहेको समय क्रिसमस पनि परेको र यतिबेला जमघट गर्नुअघि मानिसहरूले के कुरा महत्वपूर्ण हो भन्ने प्राथमिकता निर्धारण गर्न सक्नुपर्ने बताउनुभयो ।

उक्त अवसरमा बोल्दै प्रधानमन्त्री बोरिस जोनसनले कोभिड खोपको अतिरिक्त (वुस्टर) मात्रा लिनु निकै महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले केही ठाउँमा दुई दिनभित्रै सङ्क्रमितको सङ्ख्या दोब्बर भएको पाइएको बताउनुभयो ।

कोभिड र यसको पछिल्लो संस्करण ओमिक्रोन सङ्क्रमण बढ्दै जाँदा राष्ट्रव्यापी रूपमा अस्पताल भर्ना हुने दर १० प्रतिशतले र लन्डनमा झन्डै एकतिहाइले बढेको देखिएको उहाँले बताउनुभयो ।

प्राध्यापक विटीले यतिखेर यूकेले एकसाथ दुई छुट्टाछुट्टै प्रकोप झेलिराखेको बताउनुभयो । उहाँका अनुसार उक्त प्रकोप अहिले निकै छिटो फैलिरहेको ओमिक्रोन र पहिलादेखि फैलिरहेको डेल्टा भेरिअन्टका कारण बनेको हो ।

बेलायतमा विगत २८ दिनमा कोभिड पुष्टि भएका मानिसमध्ये १६५ जनाको मृत्यु भएको आधिकारिक तथ्याङ्क छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय