काठमाडौ :  मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि दलहरूले आजसम्म मात्रै प्रचार गर्न पाउनेछन् । आज मध्यराती १२ बजेदेखि स्थिर समय (मौन अवधि) सुरु हुँदैछ ।

निर्वाचन आयोगले कात्तिक १७ गतेदेखि मंसिर १ गते मध्यरात १२ बजेसम्म मात्रै प्रचारप्रसारका लागि समय दिएको थियो । स्थिर समयमा उम्मेदवार तथा दलहरूले प्रचारप्रसारलगायत काम गर्न पाउने छैनन् ।

निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सीआईएनसँग कुरा गर्दै स्थिर समय आज राति १२ बजेदेखि सुरू हुने बताउनुभयो । स्थिर समयमा निर्वाचन कुनैपनि प्रकारका छलफल, सभा, सम्मेलन, गोष्ठीलगायत गर्न पाइँदैन । मतदान हुने दिनभन्दा ४८ घन्टा अघि मतदान स्थलभन्दा तीन सय मिटर वरपर राखेका दल र उम्मेदवारका प्रचारप्रसारका सामग्री पूर्ण रूपमा हटाउनुपर्ने हुन्छ ।

सामाजिक सञ्जाल, अनलाइन वा छापाबाट उम्मेदवारका प्रचारप्रसार गर्न नपाइने समेत भण्डारीले बताउनुभयो । सामाजिक सञ्जालबाट गरिएका चुनावी प्रचार सामग्री पनि हटाउनुपर्छ । मतदान स्थलका वरपर भोज, जुलुस, बाजा बजाउन पनि पूर्ण रूपमा निषेध गरिएको छ ।

यो समयभित्र कसैले प्रचारप्रसार गरेको पाइए ‘निर्वाचन कसुर तथा सजाय ऐनले गम्भीर प्रकृतिको कसुर मानेर कडा सजाय गरिने’ निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय