
Aankhijhyaal.com -आँखी झ्याल डट कम
धनगढी, वैशाख २७-





कैलालीको धनगढी उपमहानगरपालिकाले ‘फोहोर बेचेर मोहर’ कमाउन थालेको छ । उपमहानगरपालिकाले पहिलो पटक वर्गाीकृत फोहर बिक्री गर्ने काम सुरु गरेर मोहर कमाउन थालेको हो ।
उपमहानगरपालिकाले वडा नम्बर २ मा सञ्चालन गरेको सूक्ष्म वर्गाीकरण केन्द्रबाट तयार भएको फोहोर आइतवारदेखि बिक्री गर्ने कामको सुरूवात गरेको जनाएको छ । उपमहानगरपालिकाले पहिलो चरणमा करिब १५ लाख मुल्यको वर्गाीकरण गरिएको फोहोर बिक्री गरेको छ । उपमहानगरपालिकाले फोहोर बिक्री गर्न मूल्य सूचि नै तयार पारेर ठेक्का सम्झौता समेत गरेको जनाएको छ ।
उपमहानगरपालिकाले सञ्चालन गरेको केन्द्रका प्राविधिकसहितका कर्मचारीको तलब खर्चको रकम वर्गीकृत फोहोर बिक्रीबाट संकलन गर्ने योजना छ । उपमहानगरपालिकाले तयार पारेको वर्गाीकृत फोहोरको न्यूनतम दररेट तयार पारेर ठेक्काका लागि सूचना सार्वजनिक गरेको थियो ।
उपमहानगरपालिकाको बोलपत्रमा बढी दर पेस गर्ने सोनुराज ट्रेड एण्ड सप्लायर्सले ठेक्का पाएको छ । कम्पनीले आइतवारदेखि वर्गाीकृत फोहोर ढुवानी सुरू गरेको उपमहानगरपालिकाका सरसफाइ व्यवस्थापन शाखा प्रमुख अशोक अवस्थीले बताए ।
उपमहानगरपालिकाले भुरा कागजको १० रुपैयाँ, कपिको १३ दशमलव ५०, किताबको १३ दशमलव ५०, एलडी/एचएमको ३५, पिपिको २०, पेट बोतलको ४० रुपैयाँ, गुडिया २२ रुपैयाँ, कचराको पाँच दशमलव ५०, पिभिसिको पाँच दशमलव ५०, कट्टाको पाँच दशमलव ५०, रसिहरुको पाँच दशमलव ५० र बोतल प्लास्टिकको दुई दशमलव ५० रुपैयाँ प्रति किलोग्रामको दरले बिक्री गरेको छ ।
त्यसैगरी, टीनको ४५, फलामको ४८, आल्मुनियमको दुई सय २०, तामाको नौ सय ५०, पित्तलको ६ सय ५०, बियरका बोतलको २ दशमलव ५०, सेतो बोतलको पाँच, रुस्लान, खुकुरी लगायत बोतलको १० रुपैयाँ, काठ र दाउराको ६ रुपैयाँ तथा तारको २० रुपैयाँ प्रति किलोग्राममा बिक्री गर्न थालेको छ । टायरको १३, ट्युवको २२ रुपैयाँ प्रति किलोग्राममा बिक्री सुरू गरिएको छ ।
यो समाचार राजधानी दैनिकमा छ ।