
मकवानपुर – हेटौंडा उपमहानगरपालिका–४ मा रहेको भुटनदेवी माध्यमिक विद्यालयमा अध्ययनरत बालबालिकालाई कोरोना विरुद्धको खोप लगाएर देशभर यस अभियानकाे शुभारम्भ गरिएको छ । यहाँ अध्ययनरत १२ देखि १८ वर्षसम्मका विद्यार्थीहरुलाई कोरोना विरुद्धको मोडर्ना खोप लगाएर अभियानकाे शुभारम्भ गिरएकाे हाे ।
आफूले नै विद्यार्थी जीवनमा अध्यापन गरेको भुटनदेवी माध्यामिक विद्यालयमा नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले स्वास्थ्यकर्मीलाई खोपको बाकस हस्तान्तरण गर्दै नेपालभर बालबालिकालाई विद्यालयमै खोप लगाउने कार्यक्रमको शुभारम्भ गर्नु भएको हो ।





नेपालभरिमै पहिलाे पटक हेटौंडालाई केन्द्र बनाएर बालबालिकालाई खोप दिने कार्यक्रमको सुरु गरिएको मन्त्री खतिवडाले बताउनुभयो । यो खोप कार्यक्रममा उत्साहपूर्वक सहभागिता जनाउनका लागि उहाँले आग्रह गर्नु भएको छ । विद्यार्थीहरुलाई सहज होस् भन्दै देशभर विद्यालयमै खोप लगाउने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । सम्पूर्ण विद्यार्थीहरुलाई खोप अनिर्वाय रहेको र सरकारसँग खोप पर्याप्त रहेकाे भन्दै आफ्नो घर, परिवार, छिमेकीहरुलाई समेत कोरोना विरुद्धको खोप लगाउन अनुरोध गर्नुभयो ।
कार्यक्रममा वाग्मती प्रदेशका स्वास्थय मन्त्री निमा लामाले यस प्रदेशमा दुई लाख भन्दा धेर बालबालिकाले कोरोना विरुद्धको खोप लगाउने बताउनुभयो । मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा, स्वास्थ्य कार्यलय मकवानपुरका प्रमुख प्रणयकुमार उपाध्याय लगायत स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।