
काठमाडौं, पुस ६
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाका ५ जना कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेपछि महानगरपालिकाको भवन निर्माणको काम रोकिएको छ । भवन निर्माणको ठेक्का दिने क्रममा गलत लिखत तयार गर्न आदेश दिएको भन्दै अख्तियारले ती ५ जनाविरुद्ध मुद्दा दायर गरेको हो । अख्तियारले काम रोक्न आदेश नदिए पनि कामपा आफैंले काम रोकेको हो ।
सम्झौता प्रक्रियामा संलग्न प्रमुख कार्यकारी अधिकृत राजेश्वर ज्ञवालीमाथि छानबिन नै नगरी आदेश मान्ने कर्मचारीविरुद्ध मात्र मुद्दा दर्ता गराएपछि कामपाका कर्मचारीले अख्तियारको नियतमाथि आपत्ति जनाएका छन् । आदेश दिनेमाथि कारबाही नगरी सामान्य कर्मचारीमाथि मात्र कारबाही गर्नु गलत नियत भएको कर्मचारीको आरोप छ ।





सरकारी कर्मचारीका रूपमा आएका कार्यकारी अधिकृतलाई जोगाएर महानगरकै कर्मचारीलाई मात्र फसाउने कामले स्थानीय तहकै बदनाम भएको उनीहरूको भनाइ छ । ठेक्कापट्टाको सम्पूर्ण सेटिङ गर्ने कार्यकारी प्रमुखलाई जोगाएर ५ जना कर्मचारीलाई मुद्दा दर्ता गराउने अख्तियारको गलत नियत रहेको एक कर्मचारीले बताएका छन् ।
उच्च स्रोतका अनुसार महानगरको भवन निर्माण ठेक्का प्रक्रिया अघि बढाउन मुख्य भूमिका खेल्ने प्रमुख कार्यकारी अधिकृत ज्ञवालीमाथि नै कारबाही गर्नुपर्ने आवाज उठ्न थालेको छ । मेयर विद्यासुन्दर शाक्यलाई समानान्तर निर्माण सेवा मात्र ठेक्का दिनुपर्ने विषयमा मनाउने कार्यकारी अधिकृत ज्ञवालीलाई कारबाही गर्नुपर्ने त्यहींका एक कर्मचारी बताउँछन् ।
सबै कागजात जफत गरे पनि काम रोक्न आदेश नदिएकोमा अख्तियार अनुसन्धानको विषयमा प्रश्न उठेको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।