
पर्वत : जातिय भेदभाव तथा छुवाछुत मुद्धाका आरोपीत कुश्मा नगरपालिका–११ पकुवा सिल्मी स्थित स्यानी पोखरी प्राथमिक विद्यालयका प्रधानाध्यापक खिमलाल सुवेदी र पूर्व प्रधानाध्यापक रामवहादुर केसीलाई प्रकाउ गर्न प्रहरीले आनाकानी गरेको छ । जिल्ला अदालत पर्वतले प्रधानाध्यापकलाई प्रकाउ गर्न पुर्जी जारी गरेको दुई दिन बितिसक्दा पनि प्रहरीले अहिलेसम्म प्रकाउ गर्न सकेको छैन ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरिक्षक मधुसुदन न्यौपानेले आरोपीतहरु सम्पर्कमा रहेको बताए । उनले भने,‘आरोपीतहरु सँग फोन सम्पर्क भैरहेको छ, आउँछु भनेका छन्, आए किन पक्राउ गर्न प¥यो, नआए हामी पक्राउ गछौँ ।,’ ‘जघन्य अपराध भएको भए थाहा नदिई समात्त हुन्थ्यो, अव आईहाल्छन् भन्ने भो,आज नआए हामी भोली समात्छौँ ,’उनले भने ।





फागुन १५ गते विद्यालयमा दिवा खाजा खुवाउने क्रममा उनीहरुले सोही विद्यालयमा अध्यापन गराउने शिक्षक उमा नेपाली माथि तल्लो जात भन्दै हातपात गर्नुका साथै उनी विरुद्ध अभद्र व्यवहार गरेका थिए । शिक्षिका नेपालीले उनीहरु विरुद्ध जातिय भेदभाव तथा छुवाछुत कसुरमा बुधवार जिल्ला प्रहरी कार्यालय पर्वतमा जाहेरी दिएकी थिईन ।
प्रहरीले आरोपितहरुलाई समयमै पक्राउ नगरेकोमा पिडित नेपाली दुखित छन् । ‘कानुन प्रति आशा भरोसा सबै छ । त्यसैले समयमै उजुरी दर्ता गरेको हौँ । तर, अहिलेसम्म प्रहरीले पक्राउ नगर्दा बिभिन्न शंका र प्रश्नहरु उब्जिएका छन’, नेपालीले गुनासो गर्दै भनीन् ।